Wednesday, 20 March 2019

रौनक हराउँदो होली

महोत्तरीसहितका मिथिला क्षेत्रमा रङ, अबिर र उमङ्गको पर्व होली (फागु) को रौनक हराउँदै गएको छ । पर्वको मुख्य आकर्षण जोगिरा गीत बज्न छाडेपछि होली आए/नआएको पत्तै पाइन छाडेको यहाँका बूढापाकाले बताएका हुन् ।

श्रीपञ्चमी (वसन्तपञ्चमी) देखि नै अबेर रातिसम्म गुञ्जने जोगिरा (फागु विशेषगीत) अब यहाँ सुन्न छाडिएको छ । वसन्त उत्सव मनाइएसँगै मृदङ्ग, हारमोनियम र डम्पूm (जोगिराका वाद्यवादन) का तालमा प्रत्येक रात मिथिलाका बस्ती-बस्तीमा गाइने जोगिरा हराउँदै गएपछि पर्वको मौलिकता हराएको बूढापाकाको भनाइ छ ।

श्रीपञ्चमीदेखि फागुन पूर्णिमासम्म गवैया (गायक) का समूहले गाउने गीतले दिने होली पर्वको सन्देश अब सुन्न छाडिएपछि पर्व आएको पत्तै पाइन छाडिएको महोत्तरीको भङ्गाहा–४ का पुराना जोगिरा गवैया ७५ वर्षीय रामनन्दन महतो बताउनुहुन्छ । “बौवा, जमाना छल, हमसभ जोगरा गवैछलि त पुरे बस्ती डेढ महीनाधैर उमङ्गित होयत छल” (बाबु, एक जमाना थियो, हामी जोगिरा गाउन थालेपछि डेढ महीनासम्म पुरै बस्ती उमङ्गमा हुन्थ्यो) महतोले विगत सम्झँदै भन्नुभयो, “आब जोगिरा सुनलेल मोन तर्सैय” (अब जोगिरा सुन्न मन व्यग्र हुन्छ) ।

भक्ति, ख्यालठट्टा, प्रेमयुक्त भाव र रउस मिसिएका शब्दावलीको संयोजनका जोगिरा सुन्न छाडिएपछि फागु पर्वको रौनक हराउँदै गएको यहाँका आम बूढापाका बताउँछन् । “देखु बौवा, होली त काइले अई, मुदा बुझाइते नई अई जे पावैन नजदिक अई” (हेर्नोस् बाबु, फागु पर्व त भोलि नै हो, तर पर्व आएको भान नै पर्दैन) बर्दिवास नगरपालिका–९ पशुपतिनगरका ८० वर्षीय नथुनी महतोले दुखेसो पोख्नुभयो । पुराना जोगिरा गवैया धेरैजसोको मृत्यु भएको र कतिपय बुढ्याइँले घरको कुनामा थन्किएसँगै नयाँ पुस्ताले यो संस्कृतिबारे चासो नदिएपछि अब यो लोपकै अवस्थामा पुगेको महतोकै छिमेकी ७० वर्षीय बालेश्वर ठाकुर बताउनुहुन्छ ।

“किनका के हाथ में कनक पिचकारी, किनका के हाथ में अबिर झोरी ? रामजी के हाथ में कनक पिचकारी, सीयाजी के हाथ में अबिर झोरी...!! जोगिरा..सररर..!!” (कसको हातमा सुनौला पिचकारी र कसको हातमा अबिरको झोली छ ?) भन्ने प्रश्नमा “रामजीके हातमें कनक पिचकारी..सीयाजी के हातमें अबिर झोरी..हो खेलैय होली” (श्रीरामका हातमा सुनौलो पिचकारी र सीताजीको हातमा अबिर झोली..खेलौँ है होली) गवैया समूहले सवालजवाफ शैलीमा गाइने जोगिराका यी स्वर सुन्न छाडिएपछि पर्वको रौनक हराएको पाका मैथिल (मिथिलाका बासिन्दा) बताउँछन् । सांस्कृतिक यस्ता गीत हराएर अब चर्को स्वरका डिजेबाजामा छाडा गीत संस्कृति हुर्केको बूढापाकाको आरोप छ ।

तिथि मिति सम्झना नराख्नेका लागि पनि होली आउन लागेछ भन्ने सन्देश दिने मृदङ्ग, हारमोनियम र डम्पूmका तालमा सुनिने जोगिरा लोप भएको आँखाभरि हेरिरहँदा मन अड्याउन सकस पर्ने गरेको गौशाला नगरपालिका–१२ का लक्ष्मी महतोले बताउनुभयो । आपसी सद्भाव, भातृत्व र उमङ्गको प्रतीक मानिने होली पर्वमा हास–परिहास, ठट्टा गरिनेहरूबीच गीतबाटै गरिने छेडखानी, प्रेमयुक्त भाव र रउसको संयुक्त प्रतिबिम्ब हुने जोगिरा..सुन्न छाडिएपछि यो पर्व आउँदै गरेको छनक नै हुनछाडेको भङ्गाहा–३ का बासिन्दा नेपाली काङ्ग्रेसका नगर सभापति ७० वर्षीय रुपनारायणसिंह थारू बताउनुहुन्छ ।

संस्कृतिको सम्झना मात्र नभई त्यो प्रतिको समर्पणभाव, भक्तिका लयमात्र नभई रतिराग, दुःख र जीवनका तीता अतित बिर्साउने रउस र अबिर एवं रङको महिमा एकसाथ सुन्न पाइने जोगिरा लोप हुँदै गएपछि होलीको रौनक पनि घटेको यहाँका पाका मैथिलको दुखेसो छ । “होली आएको पत्तै हुँदैन” महोत्तरीकै औरही नगरपालिकाको भोइल बस्तीका ७० वर्षीय मोहन महतो खिन्न हुँदै भन्नुहुन्छ, “टोल–टोल, बस्ती–बस्तीमा गुञ्जिने जोगिरा सुन्न छाडिएका छन् ।” नयाँ पुस्ताले पुराना संस्कृति बिर्संदै गएपछि अब आउने पुस्ताले जोगिरा भन्ने कुरा इतिहासमा मात्र पढ्ने स्थिति आएको महतोको थप चिन्ता छ ।

“कोन तालपर डम्पूm बाजे, कोन ताल मृदङ्ग, कोन तालपर गोरिया नाचे कोन तालपर हम..!! जोगिरा सरररररररर..!!” (डम्पूm र मृदङ्ग कुन तालमा बज्दैछन् ? गोरीको र मेरो नाचको ताल कस्तो छ ? जोगिरा सरर..) गवैयाले ठट्टाभावका जोगिराका यी हरफ गाउँदा घरभित्र लुकेर बसेकी नवयौवना मिथिलानीलाई उकुसमुकुस बनाउने र सबै सामाजिक पर्दा उघारेर बाहिर नाच्न आउँआउँ लाग्ने जोगिरा लोप हुँदै गएपछि फागु पर्वको सौन्दर्य स्वात्तै घटेको पुराना जोगिरा गवैया बताउँछन् ।

“हे डम्फाके चोट महलबीच पहुँचय, सुतली गोरिया चहक् उठय.. अही फागुन में ! जोगिरा..सरररर !!” (जब डम्पूmको आवाज घरभित्र पुग्दछ, सुतेकी नवयौवना जाग्छिन्...फागुमा) ख्यालठट्टा गर्न मैथिल सामाजिक स्वीकृति पाएको नाताबीच (साली–भिनाजु, देवर–भाउजु, सोल्टा–सोल्टी) बीच जोगिरा गीतमार्फत हुने ठट्टाले दिने मनोरञ्जन र कोठाभित्र लुकेर बसेकी नवयौवनालाई शृङ्गारिक गीतका भावले आउँदो होरीमा फागु खेल्न आउने चुनौतीपूर्ण निम्ता दिने यस्ता स्वर सुनिन छाडेपछि आफ्नै ठाउँ बिरानोजस्तो लाग्ने गरेको महोत्तरीकै एकडारा गाउँपालिकाको भटौलियाका बासिन्दा विजयकुमार कर्ण बताउनुहुन्छ ।

सामाजिक छुवाछुत, उचोनिचो जात र भिन्नभिन्न धर्म संस्कृतिप्रति परहेज गर्नेहरू पनि एकअर्कालाई अङ्कमाल गर्दै सामाजिक सद्भाव र समानताको सन्देश दिन रमाउने परम्पराको होली पर्व मिथिला संस्कृतिको धरोहर मानिन्छ । तर, यसको सौन्दर्यको महत्वपूर्ण अङ्ग श्रीपञ्चमीदेखि फागुन पूर्णिमासम्म गाइने जोगिरा लोप हुँदै गएर अब ‘डिस्को’ बज्न थालेपछि मैथिल मौलिकता हराउँदै गएको कर्णले चिन्ता व्यक्त गर्नुभयो ।
 
ख्यालठट्टा गरिने नाताबीचका नवयौवना मात्र नभई गवैया समूहबीच नै ठट्टा गर्ने नाताबीच हुने जोगिराको कटाक्ष पनि कम मनोरञ्जक छैन । “कई हाथ के धोती पहिरेई, कई हाथ के लपेटा, कई धार के पानी पिए, कई बाप के बेटा..! जोगिरा..सररर...!!” एकपक्षले अर्कोपक्षलाई ‘कई बापके बेटा’ (कतिवटा बाबुको छोरा) भनेर गीतमार्फत नै सोधिने भाव जोगिराबाहेक अरु बेला कल्पना पनि गर्न नसकिने मिथिला लोकसंस्कृतिका ज्ञाता जलेश्वर नगरपालिका–४ सुगाभवानीपट्टीका बासिन्दा पूर्वप्रशासक ७८ वर्षीय कृष्णचन्द्र झा बताउनुहुन्छ । जोगिरामा कामोत्सव भाव, वीर रस, आफ्नो परम्परागत संस्कृतिप्रतिको गौरववोध, आध्यात्मिक पक्ष र धार्मिक परम्पराप्रतिको समर्पण, माया प्रेम, ऊर्जा संस्कृतिको प्रचुरता, परम्पराको निरन्तरता र उमङ्गको भाव एकसाथ भेट्टाइने झा बताउनुहुन्छ ।

राजनीतिक अधिकारका लागि मिथिला क्षेत्रमा नयाँ पुस्ताको आन्दोलनमा सहभागिता देखिएपनि सस्कृतिको जगेर्ना र संरक्षणमा भने खासै उत्साह नदेखिएको बूढापाकाले टिप्पणी गर्ने गरेका छन् । आउने दिनमा मैथिल युवाले यहाँको मौलिक संस्कृति जगेर्नामा ध्यान दिनसके मात्र मिथिला संस्कृति र सभ्यताको पहिचान संरक्षण हुनसक्ने शिक्षण पेशाबाट अवकाश लिनुभएका महोत्तरीको भङ्गाहा–७ मेघनाथगोरहन्नाका ६२ वर्षीय चन्द्रनारायण चौधरी (थारू) को नयाँ पुस्तालाई सुझाव छ ।

मिथिलामा श्रीपञ्चमीसँगै जोगिरा शुरु हुने र मिथिला माध्यमिकी परिक्रमाको आठौँ दिन महोत्तरीकै कञ्चनवन (भङ्गाहा–९) मा रामसीताले अबिर खेलेको सम्झनामा यात्रीले रामजानकीलाई अबिर अर्पित गरी प्रसादस्वरुप एकअर्कालाई लगाइदिएपछि रङ अबिरको फागु पर्व विधिवत् शुरु भएको मानिने परम्परा रहँदै आएको छ ।

पर्व मनाउने परम्पराको तिथिको गणनाले पहाड र भित्री मधेशमा आज बुधबार फागु पर्व मनाइँदैछ । यसै गणनाले मिथिलामा भोलि बिहीबार होली मनाउने तयारी देखिए पनि धेरैजसो भेगमा भने शुक्रबार होली मनाइने मैथिल बताउँछन् । मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन जनकपुरको अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली मनाउने परम्परा रहेकाले शुक्रबार होली मनाइने कर्मकाण्डका ज्ञाता मैथिल पुरोहित ब्राह्मण बर्दिवास–२ का दिनेशकुमार झाले बताउनुभयो । मिथिला माध्यमिकी परिक्रमा सकेका यात्री र अन्य श्रद्धालुले भोलि बिहीबार बिहान जनकपुरको अन्तरगृह परिक्रमा गर्नेछन् । (गोपालप्रसाद बराल, बर्दिबास, रासस)

Sunday, 17 March 2019

औचित्यहीन आन्दोलन

दिनेश यादव

काठमाडौ — मधेसका बासिन्दाले वर्षौंदेखि खेप्नुपरेको उत्पीडनविरुद्ध पटक-पटक आन्दोलन भयो । तर, उनीहरूले सुरु गरेको सामाजिक, सांस्कृतिक, भाषिक तथा आर्थिक अधिकारका आन्दोलन आजसम्म पनि 'संस्थागत' हुन सकेनन् । कारण एउटै हो, ती आन्दोलनलाई सत्तामा पुग्ने भर्‍याङ मात्रै बनाए, मधेसका केही सम्भ्रान्त वर्गले । मधेसका दलित, मुस्लिम, आदिवासीलगायतका समुदाय सधैं भोटबैंक मात्रै बने । मन्त्री बन्ने, धन आर्जन गर्ने माध्यम बने । त्यसो त पहिले भन्दा मधेसीको अवस्थामा केही सुधार भएजस्तो देखिए पनि वास्तविक अनुभूति भने त्यहाँका निर्धन र आवाजविहीनले अझैसम्म गर्न सकेका छैनन् । 


जहाँसम्म #मैथिली भाषिक आन्दोलनको कुरा छ, यसमा धेरै विरोधाभास छन् । मैथिली नेपालको दोस्रो सबैभन्दा बढी बोलिने भाषा हो तर भाषाकै नाममा राजनीति गर्ने र त्यसैलाई माध्यम बनाएर 'धनार्जन' र सम्पत्ति जोड्नेहरू मिथिला क्षेत्रमा अहिले छयाप-छ्याप्ती छन् । यसमा सम्भ्रान्त र 'पारि' बाट आएका बढी छन् । मैथिली भाषालाई आफ्नो बपौती र बिर्ता ठान्नेले यसलाई व्यापार बनाएका छन् । मधेसमा मैथिलीलगायतका भाषाका नाममा ठेकेदारी प्रथा चलाएका छन् तिनले । विभिन्न पार्टीमा प्रवेश गरेर होस् या अनेकांै एनजीओ र आईएनजीओ खोलेरै होस्, केही व्यक्तिले त्यसलाई जारी राखेका छन् । मैथिली गीत, संगीत, संस्कृति र साहित्यको उत्थान र जर्गेनाका लागि भन्दै ती गैरसरकारी संस्थाहरू एउटै जाति विशेषको वरिपरि खुम्चिएका छन् । 

पछिल्लो समय जनकपुरमा जुन आततायी घटना भयो, त्यो मैथिली भाषाका ठेकेदारी प्रथाकै कारण भएको निष्कर्ष अब निकाल्न थालिएको छ । घटनामा पाँच जना सहिद भए, यो अमानवीय हो । यसको जति भत्र्सना गरे पनि कम हुन्छ । तर यसैलाई अस्त्र बनाएर 'लासको राजनीति' गर्न खोज्नु त्यो भन्दा निन्दनीय छ । आन्दोलनकै नाममा मिथिला क्षेत्रलाई अस्तव्यस्त बनाइनु किमार्थ उचित होइन ।

भावना र विचार सम्प्रेषण गर्ने एउटा माध्यम हो भाषा । तर मैथिली भाषिक आन्दोलनमा लागेकाहरू विद्यापति ठाकुरबाट माथि उठ्नै सकेका छैनन् । पछिल्लो समय सलहेसको चर्चा खुबै सुनिन थालिएको छ । सलहेसले अपेक्षाकृत बढी चर्चा पाउनुको एउटा प्रमुख कारणमध्ये 'रकमको ठूलो चलखेल' नै हो । मधेसका दलित जाति पासवान -दुशाध) का अस्थाका केन्द्र हुन्, राजा सलहेस । उनको चर्चा हुनु सकारात्मक पक्ष हो, किनभने यसमा मधेसको संस्कृति जोडिएको छ । तर नव वर्षका अवसरमा सलहेशको तस्बिर अंकित क्यालेन्डर बनाएर केही व्यक्ति मालामाल भइरहेका छन्, आफ्नो पहुँच विभिन्न निकायमा पुर्‍याउन सफल हुँदै गएका छन् । सलहेस जुन जाति विशेषसँग सम्बन्धित छन्, उनीहरू अझै पनि विभिन्न खाले अभाव, पीडा, भेदभाव, दमन र अत्याचारको शिकार भइरहेका छन् ।

अर्को तीतो यथार्थ, मैथिली भाषा अब एक ढिक्का रहेन । यो भाषा जनजिब्रोको बोली रहने कुरै भएन । ठेट मैथिली, बज्जिका, मगही, थारूलगायतका अनेकांै समूहमा यो भाषा विभाजित भइसकेको अवस्था छ । छिटफुट कुरालाई छाडिदिने हो भने मैथिली भाषा अब मधेसका मुठ्ठीभर मैथिल ब्राह्मणहरूको बोलीमा सीमित हुन पुगेको छ । योग्य व्यक्ति र भाषिक विद्वान्हरूबाट निक्कै टाढा पुगिसकेको छ, यो भाषा । मिथिला नगरी जनकपुरमा संस्कृतिको जर्गेनाका लागि विभिन्न नाममा खोलिएका संस्थाहरू दाताको रकममा चल्ने निकायमा विकसित भएका छन् । मैथिलीकै उत्थानका नाममा विभिन्न प्रोजेक्टहरू सञ्चालित छन् । त्यसलाई दुई/ चार सीडी निकालेर रकम कुम्ल्याउने उपकरण बनाइएको छ । पछिल्लो समय मिथिला राज्यको मागसहित आन्दोलनमा उत्रेका सीमित व्यक्तिहरूका कारण मिथिला, मैथिली र मैथिल रोगग्रस्त बनेको छ । उपचार खोज्ने कसले ? दहेज, बोक्सी, छुवाछूत लगायतका अनेकांै प्रलयकारी रोगले आक्रान्त छ, मिथिला क्षेत्र । तर, भारत बिहार दरभंगाका बैजनाथ 'बैजू' कै शैलीमा केही अवसरवादी, पदलोभी र धनलाभमा तल्लिन हुनेहरू मिथिला राज्यको माग गर्दै उग्रता प्रदर्शनमा जुटेका छन् । त्यसमा आम मैथिली भाषीको कुनै लगाव र चासो देखिंदैन । यसमा दरभंगा र मधुवनीबाट आयात गरिएका 'रेडिमेड' पाग लगाउनेहरूको बोलवाला छ । 

मिथिला क्षेत्रमा सदावहार रूपमा शिरमा पगरी र मुरेठा लगाउनेहरूको त्यसमा समावेशिता नगण्य छ ।  
यसैगरी मिथिला क्षेत्रको मौलिक संस्कृति बोकेको अल्हारुदल र कुबार बि्रजभान नाच,  प्राति गायन, सलहेसक गीत, डफरा बउसुरी (चमार जातिको विशेष नाच), ढोलपिपही र डम्फाको धुन हराइसकेका छन् । लटहा मोचीको ढोलको मौलिकता बोकेको संगीतमय र कर्णपि्रय आवाज अब गाउँ-गाउँमा गुन्जिन छाडिसकेको छ । यति मात्रै होइन, मुसहरहरूको दीनाभद्री, धोबी जातिको भुइँया, हलुवाई समुदायको फेकुराम, ग्वालाहरूको बुलाकी गोप र मनस गोप, वैश्यहरूको नैका बनिजारा, दुशासहरूको सलहेस, अहिरहरूको लोरिकायन, मुसलमानहरूको झरनी लोकनाच तथा लोकगाथा, मल्लाहहरूको कमलामाई र महाराज नाच लोप जस्तै भइसकेको छ । 

मधेसका निम्न वर्गका केटाहरूद्वारा जन्ती या अन्य समारोहमा नाचिने लौण्डा नाच, हिन्दुहरूको घडी पर्व, ओरहा खियाए, जुडशीतलमा बोटबिरुवामा पानी हाल्ने चलन, धान पाक्नुअघि खेत-खेतमा गएर 'सरी बराबर' को गुन्जन, मिथिलाको विशेष वाद्य उपकरण डफराको ताल अब मिथिला क्षेत्रमा नसुनिएको धेरै भइसक्यो । यी संस्कृतिहरूको चर्चा कहीँ, कतै गरेको पाइँदैन, हिजोआज । तर मैथिल उच्च जातिका मधुश्रावनी व्रत, कोजगरा, बट सावित्री र चित्रगुप्त पूजाको चर्चा र प्रचार सिंगो मैथिली भाषीको संस्कृतिको नाममा गरिंदैछ, जुन अन्य जातिका लागि घोर अन्याय मात्रै होइन, उनीहरूको संस्कृतिमाथि प्रहार गरेर मानव अधिकारको उल्लंघन पनि हो । होली पर्वमा गाइने 'होरी' गीत र जोगिराहरू मिथिला क्षेत्रको राजधानी जनकपुरमा #महामूर्ख सम्मेलनमा परिवर्तन भइसकेका छन् । सम्मेलनमा विभिन्न व्यक्तिहरूलाई सम्मान गरेर मिडियाहरूमा तिनका नाम प्रचार गरिने परम्पराको थालनी हुनु के मैथिली भाषिकको बेइज्जति र अपमान होइन र ? मिथिला राज्यले त्यस क्षेत्रका दलित, मुस्लिम, #सोलकन (गैर-ब्राह्मणहरूको १६ जातीय समूह), ओबीसीको आफ्नो बोली र संस्कृति के समेट्न सकिएला ? यसबारे आन्दोलनकारीहरूले सोच्ने कि नसोच्ने ? आन्दोलनका लागि आन्दोलन गरेर अब हुँदैन । मैथिली भाषाप्रति कलुषित भावना विकसित भइसकेको अवस्थामा उदार र सबैलाई समेटेर लाने संस्था, व्यक्तिको खाँचो छ । आन्दोलनका लागि खडा गरिएका मौसमी संगठनहरूको आन्दोलनले मिथिला राज्य असम्भव मात्रै होइन, सपनामा मात्र सीमित हुनसक्छ । अतः सबैलाई समेटेर आन्दोलन गरिए मात्र सहिदहरूको सम्मान र भाषिक अधिकार प्राप्त हुनसक्छ । 
प्रकाशित : जेष्ठ १०, २०६९ ११:४९, Kantipur Daily