Saturday, 4 May 2013

मधेसवादी दलको मधेसमा कमजोर संगठन


‘ राजनीतिक थ्रेटका लागि मात्रै हो मोर्चाबन्दीको प्रचार । एमाओवादी, कांग्रेस र एमालेलगायतका गैर–मधेसवादी दललाई ठीक साइजमा ल्याउनका लागि आन्तरिक र बाह्य शक्ति केन्द्रको ‘बार्गेनिङ टुल्स’ का रुपमा मधेसवादी दलका सीमित नेताहरुको मुखारविन्दूबाट मात्रै मोर्चाबन्दीको कुरो आएको हो । राजेन्द्र महतो र उपेन्द्र यादवको चासो चुनावी मोर्चाबन्दीमा देखिएकै छैन । ’


दिनेश यादव
मधेसी दलहरुको राजनीतिक सक्रियता केही सातायता मधेसमा ह्वातै बढेर गएको छ । सत्ताबाट बहिर्गमनपछि ‘बेरोजगार’ झै बनेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुको उपस्थिति त्यस क्षेत्रमा झनै बाक्लिएको छ । सत्तासिन हुँदा ‘टुरिष्ट’ बनेर मधेस झर्ने उनीहरु अहिले ‘विषेश पाहुना’ का रुपमा त्यता अस्थायी बसाईसराई गरेका छन् । कोही संगठन विस्तार गर्दै गाउँ–गाउँसम्म पुगेका छन् भने कोही सस्तो लोकप्रियताका लागि बजार केन्द्रित सभा÷समारोह गर्दै प्रचारबाजीमा तल्लिन छन् । कोही भने आफूमाथि राज्यले अन्याय गरेको भन्दै त्यसको स्पष्टिकरण दिँदै हिडेका छन् । केहीले चाहीँ सरकारमै रहेर पनि आफूहरु सम्मिलित मोर्चाका केही नेताका कारणले मधेसको पक्षमा ठोस कार्य गर्न नसकेको भन्दै पूर्व सहपाठीहरुलाई सत्तोसराप गर्नुलाई आफ्नो मकसद बनाएका छन् । नेताहरुको यी गतिविधिले जनता अन्यौलमा पुगेका छन् । फलस्वरुप कुनैपनि नेताप्रति जनता विश्वस्त हुन सकिरहेका छैनन् ।
यता, नेताहरुले जतिसुकै दौडाहा गरेपनि एक÷दुई पार्टीबाहेक कसैको पनि संगठन मधेसमा बलियो नरहेको विश्लेषण पनि गरिन थालिएको छ । एक जना विश्लेषक भन्छन्, ‘पुष्पकमल दहाल नेतृत्वको सरकारबाट वहिरर्गमनलगतै बेरोजगार बनेका मधेसी जनअधिकार फोरम नेपालका नेताहरुले मधेसमा संगठन विस्तार गर्न अन्य दलको तुलनामा बढी समय पाएकाले उसको उपस्थिति केही हदसम्म राम्रो भएपनि सन्तोषजनक चाहीँ छैन । ’ लोकतान्त्रिक फोरमले ‘क्यास’ को बलमा मान्छेको हुल खडा गरेर ‘सस्तो’ लोकप्रियताका लागि अभियानमा रहेको ठम्याई पनि केहीको छ । तमलोपाले पनि पार्टी विभाजनपछि खासै संगठन विस्तारमा जोड दिएको देखिएन । पार्टी अध्यक्ष महन्थ ठाकुर मधेसका पुरानो र अनुभवी नेता भएकाले आदर र सम्मानकै लागि भएपनि उनी उपस्थिति हुने सभामा मधेसीजन पुग्ने गरेको भनाई राख्नेहरु पनि भेटिन्छन् ।
मधेसी नेताहरुले आ–आफ्नो प्रचारका लागि केही नयाँ शैली समेत अप्नाएका छन् । ती मध्ये केही नेताहरु आ–आफ्नै लगानीमा संचारमाध्यमहरु संचालन गरेका छन् । ती संचार माध्यमहरुलाई आफ्नो प्रचारका रुपमा खुबै प्रयोग गरिरहेका छन् । नेताको बैठक÷सभालाई ‘ब्रेक्रिङ न्युज’ र ‘फ्लेस न्युज’ बनाइँदै छ, उनीहरुको लगानीमा रहेको संचारमाध्यमहरुले । यो मामिलामा राजेन्द्र महतो र अनिलकुमार झा अग्रपंक्तिमा छन् । यी दुई नेताहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा एफएमसंगै दैनिक पत्रिका पनि संचालन गरेको स्रोत बताउँछन् । उता, भ्रष्टाचार मुद्दामा १३ महिना जेल  बसेर मधेस छिरेका जयप्रकास गुप्ता चाहीँ छुट्टै रणनीतिका साथ आफ्नो प्रचारवाजीमा जुटेका छन् । पूर्व मन्त्री गुप्ताबारे मधेसी बुद्धिजीविहरु भन्छन्, ‘ गृह जिल्ला सप्तरी बाहेक अन्य ठाउँमा गुप्ताजीलाई साथ दिनेहरु पात्लिएका छन् । उनी आफू जेलमा कसरी र किन परेको बारे स्पष्टिकरण दिनमै समय खर्चैदै गर्दै हिडेका छन् । पछिल्लो समय सशस्त्र समूहका जयकृष्ण गोईतलाई आफ्नो संगठनमा उपस्थिति गराउने सोचका साथ अघि बढ्नु प्रचार शैली मात्रै हो । ’
नेताहरुबीच रस्साकसी जारी रहेकै वेला मधेसी दलहरुमा मोर्चाबन्दी गरेर चुनावमा जाने चर्चापनि खुबै चलेको छ । तर दलहरुमा मोर्चाबन्दीको संभावना अत्यन्तै न्युन रहेको भनाई राजनीतिक विश्लेषकहरुको छ । ‘मधेसी दलहरु मोर्चाबन्दीमा जानु आत्मघाती हुनेछ । समानुपातिक प्रतिनिधित्वका लागि दलहरुले एक प्रतिशत मत ल्याउनै पर्ने निर्वाचन आयोगको प्रावधानले कुनैपनि नेताले आफ्नो मत घटनाउन चाहँदैन’ मधेस मामिलाका जानकारहरु भन्छन्,  ‘ राजनीतिक थ्रेटका लागि मात्रै हो मोर्चाबन्दीको प्रचार । एमाओवादी, कांग्रेस र एमालेलगायतका गैर–मधेसवादी दललाई ठीक साइजमा ल्याउनका लागि आन्तरिक र बाह्य शक्ति केन्द्रको ‘बार्गेनिङ टुल्स’ का रुपमा मधेसवादी दलका सीमित नेताहरुको मुखारविन्दूबाट मात्रै मोर्चाबन्दीको कुरो आएको हो । राजेन्द्र महतो र उपेन्द्र यादवको चासो चुनावी मोर्चाबन्दीमा देखिएकै छैन । ’ं
मधेसको राजनीति र नेताबारेमा काठमाडौंमा क्रियाशिल कानुन व्यवसायी विनयकुमार झाले मधेसी केन्द्रित दलका नेताहरुले मधेस आन्दोलनपछि प्राप्त गरेको छविलाई कायम राख्न र जनताको अभिमतलाई सम्मान गर्न नसकेका कारण मधेसको वर्तमान राजनीति ठीक नभएको बताउँछन् । ‘पार्टीहरु धुँजा–धुँजामा बाँडिएका छन्, नेता तथा कार्यकर्ताहरु छिन्नभिन्न अवस्थामा रहेकाले युनाईट भएर अघि नबढे मधेस र मधेसीमाथिको विभेद र थिचोमिचो कायमै रहेन तथा संघियता र समावेशिकतालगायतका मुद्दा समाप्त हुने खतरा छ ’ उनले भने, ‘ २०६२÷०६३ को जनआन्दोलन लगतै ०६३÷०६४ मा भएको मधेस आन्दोलनबाट प्राप्त गणतन्त्र र संघियता मुद्दा तुहेर जाने संभावना प्रवल छ ।’  मधेस र मधेसीको पक्षमा सँधै वकालत गर्दै आएका र  गजेन्द्र फाउन्डेसनका अध्यक्ष समेत रहेका झाले नेपाली माझ नासोका रुपमा बाँकी रहेको अन्तरिम संविधानमा उपेक्षित, शोषित, दमित र अपहेलित समुदायको पक्षमा समेटिएका उपलब्धिहरुलाई मात्रै पनि कार्यान्वयन गर्न सकिएको भए सहज हुने प्रतिक्रिया दिए । ‘तर त्यसो हुन सकेको अवस्था छैन । मधेसी पार्टीहरुलाई ठूला दलहरुले आ–आफ्नो प्रयोजनका लागि मात्रै प्रयोग गरेकाले गैर–मधेसी दलले मधेसीको मुद्दालाई सम्बोधन गर्ला भन्ने नचिताए हुन्छ ’ उनी थप्छन्, ‘हो, मधेसको पक्षमा संविधान लेख्नका लागि अन्य दलको सहयोग अपरिहार्य छ तर यसका लागि मधेसी नेताहरु ठोस प्रतिबद्धताका साथ अग्रसर हुनुपर्छ । ’ उनी पुराना कुराहरुलाई विर्सेर सकारात्मक सोचका लागि नेताहरु अघि बढे मधेसको हितमा संविधान आउन सक्ने तथ्यलाई अझै पनि नकार्न सकिने बताउँछन् । ‘मधेसी नेताहरुले विगतका वर्षहरुमा खासगरि संविधानसभाको चुनावपछि सरकार केन्द्रित भएकाले इमान्दारितापूर्वक मधेसको मुद्दा उठाउन नसकेर आफ्नो मूल्य आफै घटाइसकेकाले त्यसलाई पुर्नजीवित बनाउन एकजूट भई अगाडि बढ्नुको विकल्प छैन ’ झाले भने, ‘ मधेसको राजनीतिमा आजको मितिमा भन्ने हो भने चार÷पाँच दलबाहेक अरु कसैको अवस्था ठीक छैन । किनभने कसैसंग व्यक्ति छ, पार्टी छैन, त्यस्तै कसैसंग पार्टी छ व्यक्ति छैन ।’ उनले मधेस आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने उपेन्द्र यादव, इमानदार नेतामा महन्थ ठाकुर, प्रखर नेतृत्वकर्ता जयप्रकासप्रसाद गुप्ता, संगठनात्मक रुपमा सक्रिय रहेका विजयकुमार गच्छदार र मधेस मुद्दा र संघियताको उठान गर्ने पर्याय बनेको सद्भावना पार्टी नेता राजेन्द्र महतोले नै मधेसको राजनीतिको नेतृत्व निर्वाह गर्न पाउनु पर्ने धारणा राखे ।
त्यस्तै, पाटन संयुक्त क्याम्पसका उपप्राध्यापक, लेखक तथा अनुशन्धानकर्ता चतुर्भूज केवरतको विचारमा राजनीतिक दलका नेताहरु आफै अनिर्णयको बन्दी बनेकाले मधेसको राजनीति अन्यौलग्रस्त बनेको हो । उनी कुर्सी र सत्ताका लागि मधेस मुद्दालाई सँधै भ¥याङ बनाउने मधेसी नेताका कारण मधेसीजन निराश र कुन्ठित बनेको आरोप लगाउँछन् । उनी भन्छन्, ‘मधेसी दल तथा त्यसका नेताहरुप्रति मधेस क्षेत्रका जनताको सहानुभूति पहिलेभन्दा निक्कै ओरालो लागि सकेको छ । जनतामा नकारात्मक सोच छ । ’ केवरत थप्छन्,  ‘जनआन्दोलनका उपलब्धिहरू संस्थागत गर्लान भन्ने सोचका साथ मधेसी नेताहरुलाई जनताले आफ्नो अभिमत र जनादेश प्रदान गरेका थिए तर, मधेसीको हकहितको कुरा छाडेर ठगको भूमिमा उनीहरुले देखा परेकाले मधेस आन्दोलन ताका जस्तो सेन्टिमेन्ट मधेसमा छैन ।’ मधेसी नेताहरु व्यक्तिगत पद÷प्रतिष्ठामा आत्मकेन्द्रित भएकाले उनीहरुमा राजनीति चरित्र समाप्त भइसकेको भनाई पनि उनको छ । ‘जहाँसम्म चुनावको कुरो छ, मेरो विचारमा नेताहरु अझैपनि यसका लागि ठोस निर्णय गर्न सक्ने अवस्थामा छैन,  निर्वाचन हुनेप्रति जनता अझै विश्वस्त हुन सकिरहेका छैनन् ’ केबरत भन्छन्, ‘राजनीतिमा सिण्डिकेट प्रथा हावी हुँदै गएको छ । चार शक्तिको सिण्डिकेट प्रथालाई चुनौति दिँदै ३३ दल आन्दोलनरत छन् । सबैलाई नसमेटिकन अगाडि बढ्नुको कुनै तुक छैन ।’ आन्दोलनकारी शक्तिलाई पनि वार्ताको माध्यममा सहमतिमा ल्याएर अघि बढ्े चुनाव होला नत्र निर्वाचन हुने सम्भावना विल्कुलै न्युन रहेको उनको तर्क छ ।  ‘नकारात्मक कुरालाई एकछिनका लागि छाडि दिने हो भने आजको मितिमा मधेसलाई नेतृत्व दिन विजयकुमार गच्छदार तथा उपेन्द्र यादव जस्ता नेताहरु सक्षम छन् । पछिल्लो समय मधेसी जनताहरु यी दुई नेताहरुलाई मात्रै विश्वास गर्न सकिने बताउँदै हिडेका छन् ’ उनी भन्छन्, ‘ हुनत, यी दुई नेताबाहेक पनि अन्य दलहरुलाई नेतृत्व दिइरहेका नेतृत्वहरु पनि छन् । तर सबैमाथि जातिवादको आरोप लगाइएको छ ।’ उनका अनुसार महन्थ ठाकुरमाथि ब्राह्मणवाद, विजयकुमार गच्छदारमाथि थारुवाद, उपेन्द्र यादवमाथि यादववाद, राजेन्द्र महतोमाथि पचपनियाँबाद , जेपी गुप्तामाथि भ्रष्टाचारीको आरोप लगाइएको वर्षौ भइसकेपनि त्यसलाई चिर्न उनीहरुले अझैपनि नसकेकोले अवस्था छ ।
अन्त्यमा मधेसी जनताले परिवर्तन चाहेका छन्, केन्द्रितकृत शासनसत्तामा आफ्नो हक, संघियता, विकास, आत्मसम्मान र पहिचान खोजेका छन् , तर अतिवादी चिन्तनको पक्षमा मधेसी जनता छैनन् । किनभने नेपालको भूबनौट बहुलवाद, बहुसंस्कृति र बहुभाषिक प्रकृतिको भएकाले त्यसै अनुरुपको शासन व्यवस्थाको पक्षमा जनताहरु रहेका छन् । जनताहरुले अगामी निर्वाचनमा भाषण छाँट्दै हिड्ने नेतालाई मत दिने सम्भावना कम छ, झुठको खेती गर्नेहरुलाई वहिष्कार गर्ने मनस्थितिमा पुगेका छन, मधेसी जनता । उनीहरुमा मधेसी दल तथा नेताप्रतिको मोह टुटेको छ । उनीहरु कांग्रेस, एमाले र एमाओवादीका मधेसी नेतालाई मत दिन तयार छन् तर ढटुवा मधेसी नेताहरुमाथि विश्वास गर्न नसकिने अवस्थामा पुगेका छन् । अर्थात् मधेसको सेन्टिमेन्ट बुझ्ने नेताका खोजीमा छन्, मधेसी जनता ।
Quatar edition 2013 may 2 th. kantipur

एमाओवादीमा किन रामचन्द्रको प्रवेश ?

‘झाको एमाओवादीमा प्रवेशले मिथिला क्षेत्रमा पार्टीको संगठनीक अवस्था कमजोर बन्ने स्थिति सिर्जित भएको छ , त्यसैले हामी त्यसको विरोधमा उत्रन बाध्य भएका छौं ।  तत्कालीन माओवादी जनयुद्ध विरोधी तथा युद्ध अपराधी पनि भएको आरोप लगाए ।  हाम्रै पार्टीका नेता रामवृक्ष यादवको हत्यामा झाको संलग्नता थियो .  झाले युद्धकालमा नेपाली सेनाको पोशाक लगाएरै व्यारेकमा पुगी तत्कालीन माओवादी कार्यकर्ताहरुलाई पहिचान गराएका थिए ।  ’


दिनेश यादव
धेरै पहिलेदेखि पार्टी छाड्ने र छुट्टै दल बनाउने भन्दै हिडेका रामचन्द्र झाले चैत २४ गते एमालेसंगको वर्षौसम्म कायम राखेको आफ्नो सम्बन्ध विच्छेद गरे । उनले एमाले परित्याग मात्रै गरेनन् , एमाओवादीमा औचारिक रुपमा प्रवेशै गरेका छन् । ठूलो संख्यामा उनका समर्थकहरु उनीसंगै हिड्ने भन्ने अड्कलबाजी एमालेमा गरिएको थियो । तर, त्यस्तो हुन सकेन । एमालेका एक कार्यकर्ता भन्छन्, ‘धनुषामा उनको जनाधार ओरालो लाग्दै गएको थियो, समग्र मिथिला क्षेत्रमा झाको लोकप्रियतामा ह्रास आइसकेकाले उनलाई कसैले साथ नदिएको हो । ’ तर झाका समर्थकहरु भने यो कुरालाई अस्वीकार गर्दै भन्छन्, ‘हामी पर्ख र हेरको स्थितिमा छौ, जुनसुकै बेला पनि एमाओवादीमा प्रवेश गर्न सक्छौ ।’ एमाओवादीमा प्रवेश हुने चर्चासंगै पार्टीभित्र बढ्दै गएको असन्तोषको बातावरण झाको प्रवेशपछि झनै बढेको छ । तराई मधेसका केही जिल्लामा एमाओवादीका असन्तुष्ट कार्यकर्ताहरु समानान्तर समिति खडा गर्ने मुड बनाएका छन् । उता, झाको पार्टी प्रवेशलाई विल्कुलै नरुचाउनेहरु एमाओवादीको केन्द्रिय कार्लालय जान समेत छाडेको स्रोतले बतायो । केहीले त झाको प्रवेश कार्यक्रमलाई नै वहिष्कारै गरे । चैत २४ गतेको कार्यक्रममा एमाओवादीका मधेस क्षेत्रका धेरै केन्द्रीय सदस्यको उपस्थिति थिएन । झाको पार्टी प्रवेश कार्यक्रममा प्रभु साह र रामरिझन यादव उपस्थिति थिएनन् । रामचन्द्रको पार्टी प्रवेशको हल्ला लगतै साह र यादवलगायतका मधेसी नेताहरु एमाओवादीको नेतृत्व पंक्तिबाट रुष्ट रहेको समाचार सार्वजनिक भएको थियो । तर उक्त समाचारको पछिल्लो समय खण्डन गरिदैछ ।  एमाओवादीका केन्द्रिय सदस्य समेत रहेका रामरिझन यादवले झाको पार्टी प्रवेशबाट आफूहरु रुष्ट भएको भन्ने कुरालाई ठाडै अस्वीकार गरे । उनले भने, ‘म आफ्नो गृह जिल्लामा भएकाले झाजीको पार्टी प्रवेश कार्यक्रममा उपस्थिति हुन नसकेको हो, हामी रुष्ट छैनौ । ’ स्रोतका अनुसार पार्टीकै क्रियाशिल नेता श्रवण यादव र विश्वनाथ साहलाई भने झुक्याएर पेरिसडांडामा बोलाइएको थियो । स्रोतले भन्यो,‘ उनीहरुलाई अन्तिम समयमा मात्रै झालाई पार्टीमा प्रवेश गराइदैछ भन्ने कुराको जानकारी दिइएको थियो ।’ यसबारे उनीहरुसंग प्रतिक्रिया लिन खोज्दा सम्पर्कमा आउन चाहेनन् । रामचन्द्र झाको प्रवेशसंगै मिथिलाञ्चल तथा मधेस क्षेत्रका एमाओवादी नेता तथा कार्यकर्ताबाट व्यापक विरोध र समर्थन दुवै एकै साथ भएको थियो, त्यो क्रम अझै जारी छ ।  केही नेताले पार्टी परित्याग गर्नेसम्मका धम्की पेरिसडाडाँ मुख्यालयमा आफ्ना केन्द्रिय नेतामार्फत् दिएका छन् भने केहीले पार्टी नेतृत्व पंक्तिलाई बधाई दिइरहेका छन् ।
हुनत, यस्तै धम्की चैत ८ गते एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेता अजबलाल यादवको स्मृतिसभामै झालाई भित्र्याउने कार्यक्रम तय गरेपछि पनि मिडियामा आएको थियो । बाबुराम भट्टराईको निकट मानिने प्रभू साहले एमाओवादीमा विद्रोह गर्ने कुरो तत्कालै मिडियाहरु मार्फत् चेतावनी दिएका थिए । एमालेका पूर्व पोलिटव्युरो सदस्य झालाई एमाओवादीमा प्रवेश गराएलगतै पार्टीमा रहेका मधेसी नेताहरुले एउटा गोप्य भेला गरेर भावी रणनीति बनाइरहेको स्रोतले भन्यो । ती भेलामा सहभागी एमाओवादीका एक नेताले आफ्नो नाम नछाप्ने सर्तमा कान्तिपुरसंग भने, ‘झाको एमाओवादीमा प्रवेशले मिथिला क्षेत्रमा पार्टीको संगठनीक अवस्था कमजोर बन्ने स्थिति सिर्जित भएको छ , त्यसैले हामी त्यसको विरोधमा उत्रन बाध्य भएका छौं । ’ ती नेताले झालाई तत्कालीन माओवादी जनयुद्ध विरोधी तथा युद्ध अपराधी पनि भएको आरोप लगाए । ‘ हाम्रै पार्टीका नेता रामवृक्ष यादवको हत्यामा झाको संलग्नता थियो’ ती नेताले भने, ‘ झाले युद्धकालमा नेपाली सेनाको पोशाक लगाएरै व्यारेकमा पुगी तत्कालीन माओवादी कार्यकर्ताहरुलाई पहिचान गराएका थिए । यस्तो व्यक्तिलाई पार्टीमा प्रवेश गराउनु ठीक होइन । पार्टी नेतृत्व तहले जनयुद्ध लडेका हामी जस्ता कार्यकर्ताका साथ अन्याय गरेको छ ।’ आफ्नै कार्यकर्ताबाट आएका यी आरोपबारे केन्द्रिय सदस्य रामरिझन यादव भन्छन्, ‘ हेटौडाको पार्टी महाधिवेशनको वैचारिक कार्यदिशा अनुरुप नै यो कार्य भएको हो । पार्टी नेतृत्वले कांग्रेसी कार्यकर्तालाई ल्याएको होइन, ३५ वर्षदेखि वामपन्थी आन्दोलनमा लागेका झालाई ल्याएको हो । एमाओवादीमा झाजीको प्रवेशबाट कार्यकर्ताहरुमा उत्साह थपिएको छ । ’ उनले पार्टीले रामचन्द्र झालाई मात्रै होइन यस्ता धेरै व्यक्तिलाई ल्याउनु पर्नेमा जोड दिए । ‘ जहाँसम्म उहाँमाथि विभिन्न आरोपको कुरो छ , त्यो अब अतित भइसक्यो , तर पनि उहाँको प्रत्यक्ष संलग्नता रहेको प्रमाण छैन ’ यादवले भने, ‘उहाँलाई डेमोरलाइज गर्नका लागि मात्रै नागरिकताको विषय केहीद्वारा उचालिएको हो । ’ उनले एमाओवादीमा आफूहरुले विद्रोह गर्ने कुरो गलत भएको बताए । यादवले भने, ‘पार्टीमा विभिन्न थरीका व्यक्ति भएकाले गलत रिपोर्टमा आफूहरुको नाम समावेश गरेर अर्कै पार्टी खोल्ने समाचार सम्प्रेषित भएको हो , त्यसमा कुनै सत्यता छैन ।’
एमाले पार्टी परित्याग गर्ने कुरो रामचन्द्र झाको धेरै पुरानो हो । मिथिलाञ्चल क्षेत्रका एमालेका केन्द्रिय सदस्य रघुवीर महासेठको ‘लोकप्रियता’ बढ्दै गएपछि झा पार्टीभित्रै उकूसमुकूसको स्थितिमा पुगेको विश्लेषण मधेस क्षेत्रमा गरिँदै थियो । स्रोतका अनुसार हालै धनुषामा सम्पन्न अखिल नेपाल महिला संघ, लोकतान्त्रिक मधेसी संगठन, नेपाल उत्पीडित जातिय मुक्ति समाज तथा नेपाल मुस्लिम ईतेहादको जिल्ला अधिवेशनबाट चयन पदाधिकारीहरुमा अधिकांश महासेठ निकटले जित्नुले पनि झाको स्थिति मिथिला क्षेत्रमा कमजोर रहेको पुष्टि गर्छ । हुनत्, उक्त अधिवेशनहरूलाई एमालेका तीन वैकल्पिक केन्द्रिय सदस्यहरु शत्रुघ्न महतो, योगनारायण यादव तथा श्रीप्रसाद साहले वहिष्कार गरेका थिए । तर उनीहरुको वहिष्कार झालाई समर्थन गर्नका लागि नभई आ–आफ्ना समर्थकहरुलाई पनि ती निकायहरुमा पार्नका लागि गरेका थिए ।
वर्षौसम्म एमालेमा संगै रहेका रामचन्द्र झाका सहयात्रीमध्येका एक लालबाबु पण्डितले झाको वर्हिगमप्रति दुख प्रकट गर्छन् । एमालेका केन्द्रिय सदस्य समेत रहेका पण्डितले भने, ‘ रामचन्द्रजी लामो समयदेखि एमाओवादीमा प्रवेशका लागि कसरतमा हुनुहुन्थ्यो । तर उहाँ जुन महात्वाकांक्षा बोकेर जानुभएको छ त्यो पुरा हुने स्थिति छैन । ’ उनले झाजी एमाले छाड्दा पहाडै खसेको जस्तो स्थिति नरहेको प्रतिक्रिया पनि दिए । ‘उहाँविरुद्ध अदालतमा मुद्दा चल्नु र पदिय तथा शक्तिमा आफू मात्रै रहनु पर्छ भन्ने महत्वाकांक्षा बढ्दै जानुले एमाले छाड्नु भएको हो ’ पूर्व सभासद् समेत रहेका पण्डितले भने , ‘एमालेमा रहँदा सरकारलाई पहिलो प्राथमिकतामा राख्नु भयो , स्थानीयस्तरमा सिर्जित ‘कन्ट्राडिक्सन’ ले पनि उहाँ एमाले छाड्न बाध्य हुनु भएको हो । उहाँ एमालेबाट एमाओवादीमा नाटक मञ्चन गर्नका लागि मत्रै जानु भएको हो ।’ उनले झाजी एमाले छाड्नुमा वाह्य शक्ति केन्द्रको हात नरहेको बताए । ‘झाजीले डेढ वर्षअघिदेखि नै एमाले छाड्ने मनस्थिति बनाउँदै आउनु भएको थियो , त्यसैले एमाओवादीका कार्यक्रमहरुमा समय–समयमा विशिष्ट आथित्यता ग्रहण गर्दै आउनु भएको थियो ।  धनुषामा उहाँ पछि पर्दै जानु भएको थियो ।’
रामचन्द्र झाले एमाले छाड्नुको कारणलाई पार्टीका नेता तथा पूर्व सभासद् रामप्रित पासवानले नेपालका राजनीतिक पार्टीहरुबीच जारी गुटबन्दीकै कारण भएको बताउँछन् । उनी भन्छन्, ‘मुलुक संक्रमणकालिन अवस्थाबाट गुज्रिरहेकाले यहाँका सबै पार्टीमा गुटबन्दी जारी रहेकाले पनि नेताहरु एउटा दलबाट अर्को दलमा जाने क्रम बढेर गएको हो । नेतृत्व तहप्रतिको अविश्वासले पनि कम्युनिष्टहरुमा समय–समयमा विद्रोह हुँदै आएको हो । रामचन्द्र जीले पनि त्यही गर्नु भएको जस्तो देखिन्छ । ’ उनले झाजीको पार्टी परित्यागलाई ठीक नभएको प्रतिक्रिया दिए । ‘ झाजीले जुन कदम चाल्नु भयो, त्यो ठीक होइन , उहाँ पार्टीमै रहेर अघि बढेको भए उचित हुनेथ्यो’ पासवानले भने, ‘एमाओवादी संघीयताप्रति बढी स्पष्ट रहेको झाजीको दाबी अगामी दिनमै स्पष्ट हुनेछ । एमाले लोकतान्त्रिक पार्टी बनिसकेकाले पनि हुन सक्छ उहाँ एमाओवादीमा जानुभएको हो । एमालेले आफ्नो मुद्दाहरुको प्रचार कम गर्छ तर एमाओवादीले बढी गर्ने भएकाले पनि यो पार्टीमा विद्रोह बढी हुने गरेको हो । ’
संस्थापक माओवादीबाट विद्रोह गरी बैद्य समूहमा रहेका पूर्व सभासद एवं मन्त्री महेन्द्र पासवानको विचार अलिक फरक छ । उनले संघियताको सवालमा एमाओवादी बढी स्पष्ट रहेको भन्ने रामचन्द्रजीको  अभिव्यक्तिले नै एमाले परित्यागको कारण स्पष्ट गरेको बताए । ‘राज्य पुर्नसंरचनामा एमाओवादी बढी लिबरल रहेको भनाई उहाँ एमालेमा छँदैपनि रहँदै आएको हो ’ उनले भने, ‘ समावेशी र समानुपातीक मुद्दामा कांग्रेस र एमालेको ठोस धारणना नरहेको बताउँदै आउँनु भएको थियो । त्यो असन्तुष्टिले पनि उहाँले माउ पार्टी छाड्नु भएको स्तो मलाई लागेको छ । ’  नेकपा–माओवादीका नेता समेत रहेका पासवानले रामचन्द्रको एमाओवादी प्रवेशको कुरा ‘व्यक्तित्व र सेक्र्युरिटी’ संग पनि सम्बन्धीत रहेको बताए । ‘ नागरिकताको मुद्दाले उहाँलाई धेरै पटक पछ्याई सकेकाले त्यसबाट उन्मुक्ति पाउनका लागि पनि एमाओवादी रोजेको हुनुपर्छ ’उनले भने, ‘झाजीले आफूलाई साँचो कम्युनिष्ट भएको दाबी गरिरहेको अवस्थामा कम्युनिष्ट विचार छाडिसकेको पार्टीमा प्रवेश गर्नुले खासै प्रभाव पर्ला जस्तो लाग्दैन ।’ पासवानले देशले राजनीतिक विकल्प खोजिरहेको अवस्थामा एउटा पार्टीबाट अर्को पार्टीमा कुनै एक व्यक्तिले प्रवेश गर्दैमा खासै अर्थपूर्ण नहुने बताए । ‘जहाँसम्म मधेसको सवाल छ , मधेसप्रति सैद्धान्तिक र नीतिगत स्पष्टता भएको, नेतृत्वको सरक्षण र विकासको सवाललाई सही मूल्यांकन गर्ने पार्टी र मधेसमा विद्यमान परिवृतिलाई पार्टीले सन्तुलनमा लिएर अगाडी बढेको जनताले देख्न चाहेका छन् ’ पासवानले भने, ‘त्यसैले मधेसीको नाममा भ्रष्ट, अवसरवादी , पदलोलुपलाई कुनैपनि दलमा प्रवेश गराएर पार्टीका त्यागी नेता तथा कार्यकर्ताहरुलाई पाखा लगाउने कार्यले अधोगति निम्त्यान सक्छ । ’ उनले कुनैपनि पार्टीले मधेसी नेता तथा कार्यकर्ताहरुलाई ‘युज एण्ड थ्रो’ को स्थितिमा मात्रै राखेकोप्रति दुखेसो पोखे ।
एमाओवादीमा नवप्रवेशी नेता रामचन्द्र झाले एमालेमा मधेसी, जनजाति, आदिवासीमाथि विभेद छ र यी समुदायको उपेक्षा पार्टीमा व्यापक रुपमा गरिएकाले पटक–पटक यसबारेमा आबाज उठाउँदा पनि नसुनेका कारणले आफूले माउ पार्टी छाडेको बताए । उनले तत्कालिन माओवादीको जनयुद्धविरुद्ध आफूले काम गरेको भन्ने आरोपबारे भने, ‘ म एमालेमा रहँदा नै जनयुद्ध भएकाले त्यसताका मैले आफ्नै माउ पार्टीको पक्षमा काम गरेको हुँ , त्यो सैद्धान्तिक हिसाबले पनि सही थियो । तर मविरुद्ध गरिएको प्रचार चाहीँ गलत हो ।’ उनले आफू ‘सेक्युर्टिटी’ र व्यक्तित्वका लागि मात्रै एमालेबाट एमाओवादीमा नआएको दाबी गरे । ‘कसैले त्यस्तो भन्छ भने त्यो गलत हो ’ उनले भने, ‘ जहाँसम्म सर्वोच्च अदालतमा मुद्दाको कुरो छ , त्यसको एउटा प्रक्रिया हुन्छ , नागरिकताको छानबिन गृह मन्त्रालय र जिल्ला प्रशासनले गर्ने हो । तर ती निकायले गरेको छानबिनले पनि ममाथि लगाइएको अरोपको खण्डन भइसकेको छ , त्यसैले यसबारे धेरै भनिरहनुपर्ने म आवश्यता ठान्दिन । ’ उनले धेरै नेपालीको सम्बन्ध भारतसंग रहेझै आफ्नो पनि सम्बन्ध रहेको यथार्थ भएको बताए । ‘ धेरै पहिले मावलीमा मेरी आमाको नाममा सम्पति भएकाले त्यसको अधिकारी मपनि थिएँ । तर यो कुरालाई धेरैले बग्याएर मविरुद्ध गलत प्रचार गरेका छन् ’ उनले भने, ‘ ममाथिको आरोप गलत हो ।
Thursday, April 18, 2013 , quatar edition, Kantipur