Tuesday, 29 July 2025
जामुन का पेड (व्यङ्ग कथा)
हिन्दी र उर्दु साहित्यका मुर्धन्य लेखक कृष्ण चन्दरको एउटा कथा छ – जामुनका पेड ।
सरकारी सचिवालयको प्रांगणमा रहेको एउटा बुढो जामुनको रुख एक राति चलेको हुरिले ढल्छ । बिहान उठ्दा सचिवालयको मालीले देख्छ — ढलेको त्यही जामुनको रुखमुनि एउटा मान्छे थिचिएको हुन्छ । रुखले थिचिएको व्यक्तिले आफ्नो जीवन बचाइदिन मालीसँग याचना गर्छ ।
मालीले रुखमुनि थिचिएको व्यक्तिले जीवन जोगाइदिन गरेको प्रस्ताव कार्यालयको पियूनलाई सुनाउँछ । पियून कर्मचारीलाई भन्न जान्छ । कर्मचारी सुपरिटेन्डेन्टलाई भन्न जान्छ । सुपरिटेन्डेन्ट उपसचिव कहाँ जान्छ । उपसचिव सहसचिव कहाँ जान्छ । सहसचिव मुख्य सचिव भएको ठाउँ जान्छ । एउटा सिंगै फाइल तयार हुन्छ ।
जोगाउनुपर्ने ढलेको जामुनको रुखले थिचिएको मान्छे थियो, तर सरकारी अड्डाको प्रक्रियाले ढलेको जामुनको रुख नै मुख्य विषय बन्न पुग्छ ।
जामुनको रुख फलफूल भएकाले मुख्य सचिवबाट फाइल बागवानी विभागमा जान्छ । सचिवालयको लेनमा रोपिएको रुख भएकाले बागवानी विभागले फाइल कृषि विभागमा पठाउँछ । बुझ्दै जाँदा रुखले च्यापिएको व्यक्ति शहरको नामुद सायर भएको खुल्न आउँछ । मामला संस्कृति विभागतर्फ मोडिन्छ ।
व्यंग्यभरि यो कहानी यति चोटिलो छ कि – सरकारी कर्मचारीतन्त्रको निवेदन दिनेदेखि फाइल सार्नेसम्मका प्रक्रियामाथि थपिने प्रक्रिया पूरा गरेर जतिबेला ढलेको जामुनको रुख हटाउने निर्णय गरिन्छ, त्यतिबेलासम्म रुखले च्यापिएको त्यो मान्छेको मृत्यु भइसक्छ ।
चन्दरको यो बेजोड कथा तत्कालीन भारतको सुस्त र कथित प्रक्रियामुखी सरकारी काम कारवाहीमाथिको सानदार व्यंग्य थियो । अहिले विश्वको चौथो अर्थतन्त्र भारतमा लाल फीताशाही त कहाँ न कहाँ कम भयो भनिन्छ । तर, चन्दरको उक्त कथा नेपालको सरकारी काम कारबाहीसँग धेरै हदसम्म मेल खान्छ । (नेपाल भ्यूजमा 13 साउन 2082 मा संजीव सत्गैंयाले लेख्नुभएको 'चरम घामले लागेको सुक्खामा (कु)शासनको रुखमुनि थिचिएका जनता' टिप्पणीबाट साभार गरिएको केही अंश/ स्केचको स्रोत : Nepalviews)
Subscribe to:
Comments (Atom)
