Tuesday, 27 February 2024

मैथिली भाषामा असमावेशी पाठ्यपुस्तक

 मातृभाषा मैथिलीमा प्रकाशित कक्षा १० को पाठ्यपुस्तकमा  जातिगत प्रतिनिधित्वको अवस्था : पुरानो र नयाँ मैथिली पाठ्यपुस्तकको तुलना गर्दा पहिले भन्दा पनि बढी ब्राह्मणवाद हाबी भएको देखिन्छ । पुरानो पाठ्यपुस्तकमा पाठ संख्या १६ मध्ये    ब्राह्मण लेखकको संख्या ६ जना (३७%), कर्ण/कायस्थ समुदायका तीन (१९%) र नाम (बाइलाइन) उल्लेख नभएको संख्या सात  (४४%) थिए । बाइलाइन नहुनुले पाठ्यपुस्तकमा समावेश सम्पूर्ण पाठ्यसामग्रीको अपनत्वको दायित्व लेखक जाति (ब्रह्माण) कै हुनु हो । यसैगरी, कक्षा १० कै मैथिली नयाँ पाठ्यपुस्तक (२०८०) मा पनि पाठ संख्या १६ नै रहेकोमा ब्राह्मण लेखकको संख्या नौ जना (५६%), ब्रह्माणेत्तर (केवट/धानुक) दुई जना (१३%) र बाइलाइन नभएको पाँच (३१%) रहेको छ ।


यसअघिको पाठ्यपुस्तकमा समावेश गरिएको कर्ण/कायस्थ समुदायलाई यसपालीको नयाँ पाठ्यपुस्तकमा समावेश गरिएको छैन । नेपालको तथ्याङ्कमा मैथिली मातृभाषा भएको लेखाउने करीब १२% अन्तर्गत पर्ने  (जनसंख्यामा ९७ % रहेको ) जाति/धर्म/समूदायलाई किनाराकृत, बहिष्कृत र विभेद गरीएको छ । यो असमावेशी पाठ्यपुस्तक लोकमैथिली भाषीले आ-आफ्ना सन्ततिलाई किन पठाउने भन्ने प्रश्न ठडिएको छ । अध्ययनका क्रममा पाठ्यपुस्तकका विषयवस्तुहरूको शैली र प्रस्तुतिहरूमा अक्षम्य त्रुटिहरू फेला परेका छन् ।

ती त्रुटिहरू पनि आमजन समक्ष ल्याउने बाचा गर्दछु। अन्त्यमा, मातृभाषा मैथिलीमा शिक्षण सिकाइ हुनु पर्नेबारे चर्का -चर्का कुरा त हामीले गरिरहेका छौं तर, लोकतान्त्रिक संघीय गणतन्त्रात्मक शासन प्रणालीलाई आत्मसात गर्न नसकेको मातृभाषाका पाठ्यक्रम, पाठ्यपुस्तक र पाठ्यसामग्रीहरू बिना परिक्षण, जाँच र मूल्यांकनकै भावी पीढिमाथि किन थोपरिरहेका छौं ? मनन र चिन्तन गर्नै पर्छ । यहाँ प्रस्तुत् तथ्याङ्कको स्रोत पाठ्यक्रम विकास केन्द्रको अनलाइनमा राखिएको मैथिली भाषाको कक्षा १० को पाठ्यपुस्तक हो ।

Friday, 9 February 2024

उपराष्ट्रपति यादवद्वारा सोनाम ल्होसारको शुभकामना सन्देश

 


हरेक वर्षको माघ शुक्ल प्रतिपदाका दिन तामाङ लगायतका समुदायले अत्यन्तै हर्षोल्लासका साथ मनाउने महान पर्व सोनाम ल्होसारको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।  

भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन् । नेपालको मौलिक संस्कृति र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धन गर्न सोनाम ल्होसारले सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु । 

नेपालको संविधानले गणतन्त्र, संघीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानूनी राज्यलाई अंगीकार गरेको छ । हाम्रो गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको छ । भूगोल, क्षेत्र, वर्ग र समुदाय अनुसार चाडपर्वहरुमा विविधता रहेको पाइन्छ । हाम्रो सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन सहयोग पुगेको छ । आपसी रीस, राग, वैमनस्यता, उच्छृंखलता, द्वन्द्व र द्वेष बिर्सेर परस्पर खुशी र उल्लास साटासाट गर्न सोनाम ल्होसार पर्वले सबैलाई उत्प्रेरित गरोस् । 

अन्त्यमा, सोनाम ल्होसारले समुदाय, समाज र देशमा सामाजिक एकता, परस्पर विश्वास, सहयोग, मैत्रीभाव, भाइचारा, मेलमिलाप, आदर, सम्मान र सद्भाव कायम गर्दै मुलुकलाई एकताको सूत्रमा बाँध्दै राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाउँदै मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन सम्पूर्ण नेपालीलाई उत्प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद । 

२०८० माघ २७ गते शनिबार ।

(ने.सं. ११४४ सिल्लाथ्य, १ शनिबार)

रामसहाय प्रसाद यादव 

उपराष्ट्रपति

प्रकाशित समाचारका लिंकहरु-

https://gorkhapatraonline.com/news/95954

https://www.onlinekhabar.com/2024/02/1432538

https://khabardabali.com/news/356828

https://onlineradionepal.gov.np/2024/02/10/463500.html

https://newstoday.com.np/2024/02/09/53458