नेपालको मधेश क्षेत्रमा परापूर्वकालदेखि प्रचलनमा रहेको हुर्राहुरीका लागि पशुचौपायालाई विशेष रूपमा सिंगारिन्छ । तिहारको तेस्रो दिन गोवर्धन पूजाको अवसरमा वस्तुभाउहरूलाई यसरी सिंगारेर गाउँको खुला ठाउँमा खरको बेलनाकार आकृतिमा कम्बलले बेरिएर बनाइएको डल्लोलाई साबैयको लामो डोरीले बाँधेर पशुचौपायाको टाउको/शरीरमा स्पर्श गराउँदै चमार समुदायले बजाएको ढोलको तालमा हुर्राहुरी खेलाउने ऐतिहासिक परम्परा रही आएको छ । कतै-कतै यसका लागि सुँगुरको पाठाको प्रयोग गर्ने चलन पनि छ । तर, सुँगुरको प्रयोगले पशु हिंसा भएको भन्दै पछिल्लो समय पशु अधिकारकर्मीले विरोध गरेपछि यसमा कमी आएको छ । हाम्रो गाउँ फकिरामा भने खरकै बेलनाकार आकृतिको प्रयोग परापूर्वकालदेखि नै हुँदै आएको छ । पशुचौपायालाई वर्षको एक दिन हुर्राहुरी खेलाउँदा पशुचौपायाहरू खुशी र स्वस्थ हुने तथा कृषिकर्ममा सहयोग पुग्ने एवम् खेतीपाति राम्रो र उत्पादन बढ्ने जनविश्वास रही आएको छ । हुर्राहुरी हेर्नका लागि गाउँका सबै धर्म, जाति, सम्प्रदायका सर्वधारण/नागरिकको बाक्लो उपस्थिति रहने गर्दछ । यो अवसरमा ढोलको तालमा कुस्ती खेलाउने परम्परा पनि छ । कुस्ती खेल्न गाउँका युवाहरूको छनौट हुर्राहुरी हेर्न भेला भएकाहरूमध्येबाटै केहीलाई त्यस खेलका आयोजन गर्नेहरू ( खासगरी जेष्ठ नागरिकहरू) ले तत्कालै कुस्ती खेल्नेहरूको छनौट गर्छन् । यसरी छनौट भएकाहरूले नाइ भन्न नपाउँने मान्यता छ । हुर्राहुरी र कुस्ती खेलको आयोजनाले गाउँमा सामाजिक एकता, सद्भाव, सहिष्णुता, मैत्रीभाव र अपनत्वभाव बढाउन सहयोग पुग्दछ । मधेशको यो संस्कृति पछिल्लो समय कम हुँदै जानु चिन्ताको विषय हो । यसलाई जीवन्त बनाउँदै युवा पुस्ताहरूमा हस्तान्तरण गर्न अति आवश्यक छ । #हाम्रो_संस्कृति_हाम्रो_धरोहर @फकिरा

