पृथ्वीनारायण शाहको क्रूरताको चरम उदाहरणमा जयप्रकाश मल्लका जनरल जयन्त रानामगरलाई पुत्रशोकको किरियामा बसेको अवस्थामा घरबाटै समातेर नुवाकोट दरबारमा ल्याई आफैंले जिउँदै छाला काढेर हत्या गरेको घटनालाई लिन सकिन्छ । त्यस्तै मकवानपुरका एक जना मधेसी सैनिकलाई जुत्ता नलगाई सलाम गरेको दोषमा हत्या गरेको घटना र गोर्खालीको जितपछि कीर्तिपुरका जनताको नाक–कान काटेको प्रसंग प्रमुख रूपमा उठाइन्छ ।
सन् १७६३ देखि चलेको किसान, साना जमिन्दार, मुस्लिम फकिरसमेत संलग्न ‘सन्यासी विद्रोह’ दबाउन ब्रिटिसलाई भरपुर सहयोग गर्ने एक ऐतिहासिक पात्र पृथ्वीनारायण शाह थिए ।
३० अक्टोबर, सन् १७७३ मा पटनाका अंग्रेज हाकिम जर्ज भेन्सिटार्टले पृथ्वीनारायणलाई चिठी लेखेरै ‘सन्यासी विद्रोह’ दबाउन सहयोग मागेका थिए । ब्रिटिसहरूले लुटेरा र बदमास भने पनि सन्यासीको भेषमा ती तमाम किसानहरू थिए, जो ब्रिटिस सरकारको लगान असुली नीति र आफ्नो जमिन खोसिएका कारण पीडित भएर विद्रोहमा ओर्लिएका थिए । उनीहरूको मुख्य निशाना धनीमानी र सरकारी अधिकारी हुन्थे । उनीहरू कम्पनी सरकारविरुद्ध गाउँ–गाउँमा जागरण फैलाउने काम पनि गर्थे । तिनै विद्रोहीलाई दबाउन सन् १७७३ मा अभिमानसिंह बस्नेतको कमाण्डमा पृथ्वीनारायणले फौज पठाएका थिए ।
सन् १७७४, जनवरी १४ मा बंगालका गभर्नर वारेन ह्यास्टिङलाई पठाएको एक पत्रमा पृथ्वीनारायण शाहले आफूले भेन्सिटार्टको अनुरोधमा अंग्रेजी कारखाना लुट्दै हिँडेका सन्यासीहरूलाई कडा दण्ड दिएको उल्लेख गर्दै ब्रिटिस सरकारले बुद्धिकर्ण रायलाई पक्रेर विजयपुर कब्जा गर्न सहयोग गरेको खण्डमा सन्यासी विद्रोहीहरूलाई बंगाल प्रवेश गर्नबाट रोक्ने प्रतिबद्धता व्यक्त गरेको देखिन्छ । ८४ वर्षपछि सन् १८५७ मा लखनउ लुट मच्चाउँदै भारतको प्रथम स्वतन्त्रता संग्राम मानिने सिपाही विद्रोह दबाएर अंग्रेजको बफादार बन्ने जंगबहादुर राणा अन्ततः पृथ्वीनारायणकै पदचिन्हमा हिँडेको मान्न सकिन्छ ।
पृथ्वीनारायण शाहको तत्कालीन ‘समुद्रको बादशाह’ सँग कस्तो सम्बन्ध थियो ? यो सम्बन्ध कहिलेदेखि (मकवानपुर कब्जा गरेपछि वा उपत्यका कब्जा गरेपछि) जोडिएको थियो ? नेपाली चलनचल्तीको इतिहासमा व्याख्या गरे जस्तो नेपाललाई अंग्रेजको गुलाम हुनबाट बचाउने पात्र पृथ्वीनारायण हुन् ? यी प्रश्नहरूको सही उत्तर खोज्न इतिहासका ती हरेक पत्रहरू उप्काउनु आवश्यक हुन्छ, जसलाई ‘राष्ट्रवाद संरक्षण’ को नाममा वा ‘नश्लीय श्रेष्ठता’ का लागि सधैँ पन्छाइने गरिएका छन् ।
पृथ्वीनारायणको माग बमोजिम अंग्रेजकै सिफारिसमा हिजरी संवत् ११८४, २६ जिल–का–अहद (एघारौं महिना), अर्थात् १२ मार्च १७७१ मा दिल्लीका मुगल बादशाह शाह आलम द्वितीयको इलाहाबाद दफ्तरबाट नेपालका ‘जमिन्दार’ पृथ्वीनारायण शाहको नाममा एउटा फरमान जारी भयो । उक्त फरमानमा पृथ्वीनारायणलाई ‘बहादुर समशेर जंग’ को उपाधिसहित उनलाई ४ हजारदेखि ५ हजार सम्मको फौज राख्ने वा राख्न पाउने अधिकार रहेको ‘जमिन्दार’ को रूपमा वर्तमान नेपालको मध्य–तराई र मधेसको भूमि जागिर स्वरूप प्रदान गरियो । उतिबेला यो भू–भागमा अंग्रेजको दिवानी अधिकार भए तापनि सार्वभौम अधिकार मुगलकै थियो । उक्त भू–भाग अंग्रेजले चाहेको बखत खोस्न सक्ने किसिमले जागिरको रूपमा पृथ्वीनारायण शाहलाई दिलाइएको थियो ।
सन् १७६४ अक्टूबरको बक्सर युद्धमा शाह आलम द्वितीयसहित नवाबहरूको संयुक्त फौज ब्रिटिससँग पराजित भयो । इलाहाबाद सन्धिअनुसार शाह आलम द्वितीयबाट ब्रिटिसले २५ अगस्त १७६५ मा तत्कालीन बंगाल, उडिसा र बिहारको दिवानी अधिकार पाएपछि कम्पनी सरकारले बारा, पर्सा र रौतहटको राजस्व आफैँ उठाउन सुरु गरेको थियो । तर, केही वर्षपछि सेन राजाले मालगुजारी बुझाएका पुराना रसिद देखाएर, विभिन्न उपाय वा सम्झौताद्वारा पटनाका अंग्रेज हाकिमलाई राजी गराई यो अधिकार पृथ्वीनारायणले लिन सफल भए । त्यसपछि कम्पनी सरकारको पटना राजस्व परिषद्मा तौतर प्रगन्ना (पर्सादेखि धनुषा) को राजस्व उनले बुझाउँदै आएका थिए ।
उतिबेला मध्य तराईको भू–भागमा अंग्रेजको दिवानी अधिकार भए तापनि सार्वभौम अधिकार मुगलकै थियो । उक्त भू–भाग अंग्रेजले चाहेको बखत खोस्न सक्ने किसिमले जागिरको रूपमा पृथ्वीनारायण शाहलाई दिलाइएको थियो ।
नेपाल कब्जा हुनुभन्दा ६ वर्षअघि १२ अगस्ट सन् १७६२ मा गोर्खालीले मकवानपूर राज्य कब्जा गरे । मकवानपुर राज्यको भू–भागअन्तर्गत मधेससहितको मैदानी क्षेत्र पनि पर्थ्यो । त्यतिबेला वर्तमान नेपालको अधिकांश तराई–मधेस क्षेत्रमाथि मुगल बादशाहको वैधानिक अधिकार मानिन्थ्यो । मालपोत उठाउने र बादशाहलाई निश्चित रकम बुझाउने गरी सेन राजाले मध्य–तराईको जागिर पनि पाएका थिए । सन् १६६४ मा औरंगजेबको पालादेखि सेन राजाले पर्सादेखि धनुषासम्मको भागको लागि रु १२,००० वार्षिक राजस्व मुगल नवाबलाई बुझाउने गर्थे । गोर्खालीले मकवानपुर कब्जा गरे पनि मैदानी इलाका हासिल गर्न अंग्रेज सरकारलाई रिझाउने उपाय मात्रै थियो ।
अवधका नवाबसँग सेनहरूको सयौं वर्ष पुरानो सम्बन्ध भएकोले नवाबलाई राजी गराउन सहज थिएन । साथै, २० जनवरी सन् १७६३ मा बंगालका सुबेदार मीर कासिमले गोर्खालीमाथि मकवानपुरमा आक्रमण गरेका थिए । एक कथनअनुसार गुरगीन खाँले नेपालको तराई क्षेत्रमा सन्यासी र फकिरहरूसँग सम्बन्ध बनाएर मीर कासीमको सल्लाहमा मकवानपुरमा आक्रमण गरेका थिए । तथापि यो घटना मीर कासिमको सन् १७६२ देखि चलेको अंग्रेजहरूसँगको विवाद र द्वन्द्वको बेलामा भएको देखिनाले पृथ्वीनारायण शाहले स्थानीय अंग्रेज हाकिमहरूसँंग सम्बन्ध बढाइरहेको अवस्था थियो भन्ने अनुमान हुन्छ ।
बंगालका गभर्नर जोन कर्टियरले (सन् १७६९–सन् १७७२) गोर्खालीले मकवानपुर कब्जा गरेपछि तौतर प्रगन्नाको ‘पेशकश’ कसले तिर्दै आएको छ, र त्यो रकम कति र कुन रूपमा टुंगो लागेको थियो, यी सबै विवरण पठाउन पटना काउन्सिलका हाकिमलाई आदेश दिए । ३० जुलाई १७७१ मा पटना काउन्सिलका हाकिमले सबै विवरण साथ लेखेको पत्र यस्तो थियो–गोर्खाका राजा पृथ्वीनारायण शाहले यस वर्ष पाँच वटा हात्ती बुझाउन पठाएका थिए, र गत वर्षको बक्यौता रु १५,००० पनि नगदै बुझाए । यस अवस्थामा उनले आजसम्म नियमविरुद्ध काम गरेका छन् भन्ने शिकायत गर्ने कुनै कारण देखिएको छैन ।
यो व्यहोराको पत्रबाट, सेन राजाले विभिन्न बहानामा कर छल्ने र नवाबको अवैध क्षेत्रमा घुसपैठ गरेको देख्दै आएका ब्रिटिस हाकिमहरूले, पृथ्वीनारायण शाह अंग्रेजप्रति बफादार, ईमानदार र सहयोगी रहेको महसुस गरेको प्रस्ट बुझ्न सकिन्छ । त्यसपछि सन् १७७१, अगस्त १० मा पृथ्वीनारायण शाहले प्रतिवर्ष मालगुजारी बुझाउँदै रहेसम्म र उनले कम्पनीका प्रदेशमा घुसपैठ नगरुन्जेलका लागि सैनिक कारबाही नगर्ने निर्णयमा कम्पनी पुग्यो र यसको सूचना पटना राजस्व काउन्सिललाई पनि दिइयो ।
त्यसपछिको घटनामा मोरंग, सप्तरी आदि कब्जा गरेपछि पृथ्वीनारायण शाहले वैधानिक अधिकारको लागि सनद गरेर पठाइदिन ब्रिटिस गभर्नरलाई पत्र पठाएको प्रमाण भेटिन्छ । वारेन ह्यास्टिङलाई १३ अक्टोबर १७७४ मा लेखेको पत्रको व्यहोरा यस्तो थियो– विजयपुर (मोरंग), अम्बपुर (सप्तरी) पहिले सेन राजाको अधिकारमा थियो, अहिले मेरो अधिकार भएको छ । अर्जीका साथ म आफ्नो वकिल पठाउँदै छु । यस प्रदेशमा मेरो अधिकार विषयमा सनद गरेर सहीछाप गरिदिनुहुन तपाईंसित अनुरोध गर्दछु । तर, २८ नोभेम्बर, १७७४ मा वारेन ह्यास्टिङले पठाएको जवाफ नकारात्मक थियो– ती दुवै प्रदेश पहिलेदेखि नै बंगाल प्रान्तका भाग हुन् । त्यसैले ती प्रदेशमा आफ्नो अधिकारको दाबा छोडी फौज हटाउनु होला भन्ने आशा गर्दछु ।
ह्यास्टिङको जवाफ आएपछि पृथ्वीनारायण शाहले फेरि ब्रिटिस गभर्नरलाई आफू अंग्रेजविरोधी नभएको र राज्य–विस्तार उनीहरूलाई हानी पुर्याउने उद्देश्यले गरेको होइन भन्ने आश्वस्त पार्न यस्तो लेखेर पठाए– मकवानपुर आदिका विषयमा मैले मालवाजवी (मालगुजारी/कर) तपाईंलाई जसरी बुझाउँदै आएको छु, त्यसैगरी विजयपुरको विषयमा पनि जति बुझाउनु पर्ने निर्णय गर्नुहुन्छ उति बुझाउने छु । यसमा कम्पनीलाई केही हानी छैन । मेरो शत्रुहरूले मेरो विरुद्ध सुनाएको चुक्लीको आधारमा मेरो विषयमा गलत धारणा बनाउनु हुनेछैन भन्ने मैलेआशा लिएको छु ।
पृथ्वीनारायण शाहले अंग्रेजसँग द्वन्द्वमा नगई कम्पनी सरकारको साथ र समर्थनमा राज्य गरेको देखिन्छ । राज्य–विस्तार र राज्यलाई बलियो बनाउन मधेसको मैदानी भूमि अत्यन्त महत्त्वपूर्ण थियो । मधेस भू–भाग भएको कारणले बलियो सेन राज्य २५० वर्षदेखि एकछत्र टिकिरहेको थियो । सेन राजाको बारेमा लेख्नेहरूले हरिहर सेनको दक्षिणी सिमाना गंगासम्म थियो भन्ने उल्लेख गरेका छन् । तथापि यतिचाहिँ भन्न सकिन्छ– सेन राज्यमा वर्तमान नेपाल र भारतको मैदानी क्षेत्रको विस्तृत भू–भाग समेटिएको थियो । ठूलो संख्यामा सेना राख्न, सैन्य कमाण्डरहरूको लागि जागिर र रसदको प्रबन्ध मिलाउन, भाडाका गैरमुलुकी सैन्य राख्न मधेसको आम्दानीबाट मात्र सम्भव हुन सक्थ्यो ।
पृथ्वीनारायण शाहको उदय एउटा सत्ताको परिवर्तन मात्र हो । गोर्खाली सत्ताको स्थापना भनेको नेवा, मैथिली, किराँत, लिम्बुवान सत्ता वा सभ्यताको अवसान पनि थियो, जुन सयौँ वर्षदेखि नेपालको धर्तीमा टिकिरहेका थिए ।
पृथ्वीनारायण शाह क्रूर र तानाशाही राजाको छविका थिए । क्रूरताको चरम उदाहरणमा जयप्रकाश मल्लका जनरल जयन्त रानामगरलाई पुत्रशोकको किरियामा बसेको अवस्थामा घरबाटै समातेर नुवाकोट दरबारमा ल्याई आफैंले जिउँदै छाला काढेर हत्या गरेको घटनालाई लिन सकिन्छ । त्यस्तै मकवानपुरका एक जना मधेसी सैनिकलाई जुत्ता नलगाई सलाम गरेको दोषमा हत्या गरेको घटना र गोर्खालीको जितपछि कीर्तिपुरका जनताको नाक–कान काटेको प्रसंग प्रमुख रूपमा उठाइन्छ । इतिहासकारहरूको एउटा तप्का यस्ता घटनालाई समेत काल्पनिक ‘एकीकरण’ सँग जोडेर क्रूरताका पराकाष्ठाको पनि बचाऊ गरिरहेका भेटिन्छन् । बुझ्नुपर्ने मुख्य कुरा के हो भने विश्वको वर्तमान भूगोल तत्कालीन साम्राज्यवादी शक्तिहरूले उतिबेला लिएको राजनीति एवं रणनीतिको परिणाम मात्र हो । नेपाल पनि यसमा अछुतो छैन । पृथ्वीनारायणले अंग्रेज रिझाउन लिएको नीतिबाट नै यो कुरा प्रष्ट हुन्छ ।
पृथ्वीनारायण शाहको उदय नेपालको तत्कालीन राजनीतिक इतिहासमा महत्त्वपुर्ण परिघटना थियो । तर, यसलाई बंगाल–बिहारमा जरा फैलाउँदै गरेको इष्ट–इण्डीया कम्पनीको रणनीति, राजनीति वा उसको व्यापारिक स्वार्थको आलोकमा हेरिनुपर्दछ । पृथ्वीनारायण शाह अंग्रेजलाई चाहिएको सहयोग दिन तत्पर देखिन्थे र आफूलाई अंग्रेजबाट आवश्यक पर्ने सहयोग लिन पनि उनी हिच्किचाएको देखिन्न । अहिलेको समयमा त अर्को ५ वर्षमा कुन पार्टीको बहुमत आउँछ भन्ने अड्कल काट्न सकिन्न भने तत्कालीन समयमा भर्खर बंगालमा स्थापित हुँदै गरेका अंग्रेजहरूले भविष्यमा सम्पूर्ण भारतमाथि कब्जा गरी नेपालको डाँडाकाँडामा समेत प्रवेश गर्नेछन् भन्ने पृथ्वीनारायण वा अन्य कसैले उतिबेला कल्पना गर्न सक्ने अवस्था थियो भन्नु फजुल तर्क वा प्रोपोगाण्डा मात्र हो ।
(स्रोत :वीडी जोशीद्वारा ‘चेतलुङ’ अनलाईनमा १ माघ २०७८ मा प्रकाशित आलेखको केही अंश)
Link :::https://www.chetlung.com/history/58858-1642241240.html
सन्दर्भ सामग्री
आनन्द मठ (सन् १८८२),बंकिमचन्द्र चटोपाध्याय
श्री ५ बडा महाराजधिराजको जीवनी (वि.सं. २०२७),बाबुराम आचार्य
नेपालको ऐतिहासिक रूपरेखा (वि.सं. २००८),बालचन्द्र शर्मा
सेन राजाहरूको ऐतिहासिक परिचर्चा र पुर्वी पहाडका केही ब्रम्हण बंश, कुलचन्द्र कोइराला
सुगैली सन्धि, वि.सं.१८१६
मीर कासिम (सन् १९८४), हरिहर नाथ शास्त्री
हिमालयन गजेटियर (सन् १८८२), एटकिनसन
Sannysasi Fakir Rebellion, 1770-1800 : A study in overt form of Rebellion -- Amrita Sengupta, Phd. Jadavpur University.
Bhattacherje, S. B. (2009). Encyclopaedia of Indian Events & Dates