Saturday, 26 November 2022

निर्वाचनको नतिजाले हाम्रो सङ्घर्ष यात्रालाई कुनै असर पार्ने छैन :उपेन्द्र यादव

मुलुकमा पञ्चायती व्यवस्था/निरङ्कुश राजतन्त्र भएको बेला जनतालाई लोकतन्त्र, नागरिक अधिकार, प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रता लगायतका मौलिक हकहरूबाट वञ्चित गरिएको थियो । उक्त निरङ्कुश शासनको विरुद्धमा वामपन्थी राजनीतिक धारबाट प्रेरित भई विद्यार्थी राजनीति मार्फत सङ्घर्ष सुरु गरेको थिए ।
वि.सं. २०३२ सालको विद्यार्थी आन्दोलनमा सक्रियतापूर्वक भाग लिएकोले तत्कालीन शासकहरूको आदेशमा पहिलो पटक जेल परे । त्यसपछि निरन्तर रूपमा लोकतन्त्र, बहुदलीय व्यवस्था, जनताको अधिकार, समानता तथा सिमान्तिकृत वर्गको उत्थानको लागि सकृय राजनीतिमा लागी सङ्घर्ष जारी नै राखे ।
वि.सं. २०३६ सालको विद्यार्थी आन्दोलनमा पनि सकृय भूमिका निर्वाह गर्ने अवसर पाएँ । यसरी वामपन्थी राजनीति मार्फत अगाडि बढ्दै जाँदा विभिन्न अवरोधहरूको पनि सामना गर्नुपर्यो । वि.सं. २०४२ सालमा पञ्चायती व्यवस्थाको विरुद्धमा लोकतन्त्र बहालीको लागि लड्ने क्रममा काठमाडौँको केन्द्रीय कारागारमा र वि.सं. २०४६ सालमा आन्दोलनको क्रममा विराटनगरबाट पक्राउ परि धनकुटा जेलमा बन्दि जीवन बिताउनु पर्यो ।
देशमा बहुदलीय व्यवस्था आइसक्दा पनि मधेसी, आदिवासी जनजाति, दलित, थारु, मुस्लिम लगायतका सीमान्तकृत समुदायहरू या बहिष्करणमा पारिएका समुदायहरूको पहिचान, अधिकार, प्रतिनिधित्व, समावेशिता लगायतका सवालहरू सम्बोधन हुन सकेको थिएन । उनीहरूलाई दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरिँदै थियो । मधेसी समुदायलाई बिदेसी, मदिसे, धोती, बिहारी जस्ता अपमानजनक शब्दहरू प्रयोग गरी सम्बोधन गर्ने कार्यहरू हुँदै थियो । उनीहरू अपमानित र अपहेलित जीवन बिताउन बाध्य थिए ।
राज्यको दोहोरो चरित्रको विरुद्धमा एउटा लडाई अपरिहार्य रहेको महसुस गर्दै तत्कालीन मधेसी जनाधिकार फोरमको नेतृत्वमा ऐतिहासिक मधेस जनविद्रोहको संखनाध गर्यौ । र, मधेसी जनाधिकार फोरमको अध्यक्षको हैसियतले मैले नेतृत्व गरेको मधेस जनविद्रोह सफलतापूर्वक अगाडि बढ्यो । संविधान सभा भित्र र बाहिर रहेर देशको सम्पूर्ण वर्ग र समुदायले स्वामित्व ग्रहण गर्ने संविधान जारी गर्न हामी अन्तिम समयसम्म पनि सङ्घर्ष जारी राख्यौँ । त्यही सङ्घर्षको उपलब्धि स्वरूप आज यतिसम्मको संविधान बन्न सक्यो । नत्र यो पनि सम्भव थिएन । आज सङ्घीयता, गणतन्त्र, समावेशिता, मौलिक हक र सामाजिक न्याय जस्ता उपलब्धिहरू ऐतिहासिक मधेस जनविद्रोहकै देन हो ।
तथापि यो संविधान त्रुटिपूर्ण छ, संविधानमा असमानताहरू रहेका छन् । अझै पनि सङ्घीयता वास्तविक रूपमा सङ्घीयता जस्तो हुन सकेको छैन । प्रदेशलाई अधिकार सम्पन्न र बलियो बनाउन सकिएको छैन । हरेक समुदायले जनसङ्ख्याको आधारमा प्रतिनिधित्व गर्न पाउने अधिकार सुनिश्चित भइसकेको छैन । यस संविधानले विभिन्न राष्ट्रियताहरू जातीय समुदायहरूको पहिचानलाई सम्बोधन गर्न सकेको छैन । बहुभाषिक नीतिलाई राम्ररी अवलम्बन गरी अभ्यासमा ल्याउन सकेको छैन । यस संविधानले अझै पनि गलत शासकीय स्वरूपलाई अङ्गालेको छ । विकृतिमूलक निर्वाचन प्रणाली अपनाएको छ । स्वतन्त्र न्यायालय भए तापनि न्यायालयसम्म सबै नागरिकको पहुँच हुने गरी संरचना बनाउन सकिएको छैन । जसले गर्दा न्याय पाउने आधारभूत अधिकारबाट आज पनि लाखौँ जनता वञ्चित हुनुपरेको छ । त्यसैले संविधान संशोधन र परिवर्तनको लागि हामी अझै पनि सङ्घर्षरत छौँ ।
बहिष्करणमा पारिएका जनसमुदायहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, न्याय इत्यादि आधारभूत आवस्यक्ता प्रति हामी सुरुदेखि नै प्रतिबद्ध थियौँ, छौँ र रहने छौँ । अबको प्रयास भनेको प्राप्त उपलब्धिहरूको संरक्षण र बाँकीको लागि सङ्घर्ष गर्दै आर्थिक उन्नति मार्फत समतामूलक विकासकै लागि हो ।
मधेस विश्वविद्यालय, मधेस प्रदेश कृषि विश्वविद्यालय, रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नर्सिङ कलेज र ईन्जीनियरिङ कलेज, सडक सञ्जाल, शिक्षामा छात्राहरूको पहुँच लगायतका प्रयासहरू यसै उद्देश्य पूर्तिको पूर्वाधारहरू हुन् । अन्य कतिपय योजनाहरू पनि पुरा भइसकेको वा हुने क्रममा रहेको सर्वविदितै छ ।
चुनाव एउटा राजनीतिक प्रक्रिया हो । जस मार्फत जनताले आफ्नो प्रतिनिधि छान्ने हो । चुनावमा भएका आन्तरिक र बाह्य षडयन्त्रको सुईको मैले पनि पाएको छु । यसको पनि मूल्याङ्कन हुने नै छ । र, कुनै पनि खालको हस्तक्षेप हामीलाई स्वीकार्य छैन । यस चुनावको परिणाम रहस्यमयी रहे तापनि हामी जनताको निर्णयको सम्मान गर्दछौँ । नव निर्वाचित जन प्रतिनिधिहरूलाई हाम्रो साथ सहयोग रहने नै छ । सम्पूर्णमा सुखद कार्यकालको शुभकामना व्यत्त गर्दछु ।
निर्वाचनमा सहभागी मतदाताहरू, सहकार्य तथा प्रतिस्पर्धामा रहेका विभिन्न दल र त्यसका नेताहरू, निर्वाचन आयोगका कर्मचारीहरू, सुरक्षा कर्मीहरू, पत्रकार तथा पर्यवेक्षकहरू लगायत सम्पूर्ण सहयोगी संस्थाहरू, निर्वाचन अवधिभर अहोरात्र खट्नुहुने युवाहरू, प्रचारप्रसारलाई रचनात्मक बनाउन सहयोग गर्नुहुने गायक तथा सङ्गीतकर्मीहरू लगायत सबैमा विशेष धन्यवाद ज्ञापन गर्दछु ।
अन्त्यमा, यस निर्वाचनको नतिजाले हाम्रो सङ्घर्ष यात्रालाई कुनै असर पार्ने छैन । एक इन्च पनि तलमाथि नभईकन जनताको म्यान्डेट अनुसार हामी हाम्रो मिसनमा लागिरहने छौँ । बरु विगतको समीक्षा गर्दै हाम्रो प्रयास झन् ससत्त हुने विश्वास दिलाउन चाहन्छु । धन्यवाद ।(सभार:उपेन्द्र यादवको फेसबुक वाल)

Thursday, 24 November 2022

उपेन्द्रलाई हराउनेहरु जति खुशी छन् चन्द्रकान्तलाई जिताउँदा पनि त्यति खुशी देखिदैनन् !

जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादव पराजित भएबाट राज्यसत्तामा वर्षौदेखि हालीमुहाली भएका ७ ‘द’ (दल, दलपत्ति, दलकारिता गर्नेहरु, दामका लागि संधै ललायित हुनेहरु, दलाल र दक्षिण–पश्चिमका एजेन्टहरु) जति खुशी देखिएका छन् जनमत पार्टी (जपा) अध्यक्ष चन्द्रकान्त राउत जित्दा पनि तिनीहरुमा त्यति खुशी देखिएको छैन । खासगरी, देशी/विदेशी शक्ति जो मधेश, मधेशी, दलित, जनजाति, आदिवासी लगायतलाई अधिकारबाट बञ्चित गरी राख्न संधै ‘कम्फोर्ट पपेट’ को खोजीमा क्रियाशील थिए, तिनीहरु जसपा अध्यक्षको पराजयबाट खुशी छन् ।
नेपाली राजनीतिको एउटा तीतो यथार्थ नै हो– जसपा अध्यक्ष उपेन्द्र यादव मधेशी लिगेसी बोकेका नेता हुन्, उनको पराजयले राज्य सत्तामा संधै पछाडि परेका र विभेद्मा पारिएकाहरुको अधिकारको लडाई रोकिन्न, त्यसलाई रोक्न र छेक्न कसैले सक्दा पनि सक्तैनन् । इतिहास साक्षी छ– जसको नेतृत्व, शक्ति, तागत र सामथ्र्यमा नेपालमा संघियता, समावेशिता र समानताको जीत भएको थियो र छ, त्यो जीत कुनैपनि ‘टेक्निकल डिफिट’ ले खासै तात्विक असर पर्नेवाला देखिन्न, छैन । हो, मधेशीको अधिकार प्राप्तिको लडाईमा झिनो प्रभावसहित यो केही पर धकेलिएको मात्र हो । त्यसैले निराश हुने जरुरत छैन, हतोत्साहित हुने अवस्था पनि छैन । राजनीतिमा विभिन्न प्रयोगहरु हुने गर्छ, त्यो तत्काल परिणाममुखि नहुन पनि सक्छ । तर, उक्त प्रयोगको ‘हाइपोथेसिस’ आफू पराजय र आलोचित भएर पनि जसपा अध्यक्षबाट पुरा भै रहेको देखिन्छ , त्यो हो ‘थ्रेसहोल्ड’ । राजनीतिमा यसले ठूलो महत्व राख्छ ।
अंकगणितमा संधै जोड–घटाउ र गुणा–भाग मात्रै हुदैन ‘युनिटरी मेथोड’ पनि काम लाग्छ । त्यसमा भने जसपा अध्यक्ष उपेन्द्र यादव अब्बल प्रमाणित भएका छन् । मानिसका कमिकमजोरी हुनसक्छ, त्यसको अर्थ मुद्दा, मिसन र संघर्ष नै खराब भन्ने हुँदै होइन । मधेशमा जनमतको उदय किन र केका लागि भएको हो–यहाँ भनिराख्नु पर्ने विषय अब रहेन । भावी दिनहरुमा जनताले मुल्यांकन गर्ने नै छन् । किनभने जनतासंग जनमतका घोषणा पत्र घर–घरमा सुरक्षित छ, त्यसको केस्रा–केस्रा केलाउन जनताहरु तम्तयार छन् । जनमतका नेता तथा कार्यकर्ताहरुले के हेक्का राख्न सक्नुपर्छ भने पार्टीका एजेण्डा र घोषणापत्रको अक्षरसः पालना गर्ने ल्याकत र हैसियत कायम राख्न नसकेको अवस्थामा न्यायाधिशको भूमिकामा रहेका जनताजनार्दनले केही दिनभित्रै हिसाब–किताब गर्न थाल्ने छन् । त्यसपछिको अवस्था भनेको ‘रोड स्टार लिडर’ कै भुमिकामा देखिनु हो । यसले कसैको भलो हुन्न भन्ने बुझ्न जरुरी छ । वर्षौदेखि मधेशका किसानले समयमा मल, विउविजन नपाएको यथार्थ र सत्य हो । यसलाई कार्यान्वयन गर्न सक्ने सामथ्र्य देखाउन जनमतले नसकेको अवस्थामा उसले ‘एक्लो प्रतिनिधिले केही गर्न सक्तैन’ भन्ने छुट उसलाई किमार्थ हुन्न ।
अर्को कुरो, उसको घोषणापत्रमा मधेशीसंग असम्बन्धित धारा ‘आईएलओ १६९’ लाई मधेशीको पक्षमा कार्यान्वयन गराउने दाबी गर्दै जन–जनमा भ्रम सिर्जना गर्ने गम्भिर प्रकृतिका छन् , त्यो भ्रमलाई समेत सच्चाउनु पर्ने छ । यो धारा एउटा उदाहरण मात्र हो, अन्य थुप्रै असम्भव विषयहरु समेत घोषणा पत्रमा छन् । त्यसलाई सच्याउँदै कार्यान्वयनमा ल्याउन सक्नुपर्छ । जहाँसम्म सप्तरीको सन्दर्भ छ जसपाले थालेका विकासका कार्य (जसलाई जनमतले कागजी घोडाको संज्ञा दिएको छ) त्यसलाई कार्यान्वयन गर्न र जहाँसम्म यो क्षेत्रमा कामहरु भएका छन् त्यसलाई त्यहीबाट शुरु गर्नुपर्ने कार्यादेश पनि जनमतलाई छ । यी र यावत कार्यादेशलाई पछ्याउन नसकेको अवस्थामा गजेन्द्रबावुले शुरु गरेको मधेसको विकास (औद्योगिक क्षेत्रलगायत) मा विराम लगाउने नेकाका रामकुमार चौधरी जस्ता नेता र जनमत पार्टीका चन्द्रकान्तमा कुनै तात्विक अन्तर हुने छैन । यात्रा कठीन र जटिल त छ तर उच्च मनोवल भए त्यो सम्भव पनि छ । अन्त्यमा नवनिर्वाचित सांसद चन्द्रकान्तलाई बधाई तथा शुभकामना । साथै, जसपा अध्यक्ष उपेन्द्रलाई पराजय भएर पनि आफ्नो प्रयोगमा सफल हुनु भएकोमा बधाई तथा शुभकामनासंगै विगतका कमिकमजोरी सच्चाउँदै अघि बढन विनम्र आग्रह छ ।