नपढी विशिष्ट श्रेणीमा त्रिविको परीक्षा उत्तीर्ण गर्न मन छ ? जनकपुर आउनुस् [भाग १]: लोकान्तर : निरन्तर तथ्यको खोज
जनकपुरधाम, ६ चैत- के तपाईंलाई स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक प्रमाणपत्र चाहिएको छ, त्यो पनि नेपालकै सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयबाट ? छ भने जनकपुर आउनुस्, प्रमाणपत्र प्राप्त गर्न सक्नुहुन्छ । त्यसका लागि ठूलो मेहेनत गर्नुपर्दैन, मात्र जनकपुरमा आएर परीक्षा दिए पुग्छ ।
तपाईंलाई विषयको ज्ञान नभए पनि परीक्षामा विशिष्ट वा प्रथम श्रेणीमा उत्तीर्ण गराउने जिम्मेवारी जनकपुरका क्याम्पस प्रशासन, विद्यार्थी नेता तथा क्याम्पसमा काम गर्ने कर्मचारीहरूले लिनेछन् ।
सुन्दा अपत्यारिलो लाग्यो होला, तर विश्वास गर्नुस् जनकपुरमा यस्तै भइरहेको छ ।
त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब) जनकपुरमा परीक्षाको नाममा अमर्यादित क्रियाकलापले हद नाघेको छ । अहिले स्नातक तह चौंथो वर्षको परीक्षा राराब क्याम्पससंगै जनकपुरमा रहेका निजी क्याम्पसहरूमा सञ्चालन भइरहेको छ । तर यहाँ हुने परीक्षा परीक्षाजस्तो हुँदैन ।
केहीले बाहिरैबाट उत्तरपुस्तिका भरेर बुझाउँछन् भने केहीले परीक्षाहलमै खुलेआम 'डकैती' गरिरहेका छन् । डकैती यस मानेमा कि परीक्षामा विद्यार्थीहरूले चिट चोर्ने होइन, आफूसँग रहेको किताब, टीयू सोलुसन तथा गाइड र गेस पेपर निर्धक्क साथ डेस्कमा राखेर नक्कल गर्छन् । गाइड र गेस पेपरमा उत्तर जस्ताको तस्तै भेटिएन भने परीक्षा हलबाटै फोन गरेर बाहिरबाट उत्तर प्राप्त गर्ने सुविधा पनि छ ।
वस्तुगत प्रश्नहरूको उत्तर एसएमएसमार्फत् मोबाइलमै उपलब्ध हुन्छ ।
यदि तपाईं यसरी परीक्षाहलमा उपस्थित हुने र तोकिएको अवधिमा बसेर प्राप्त उत्तर सार्ने धैर्यता पनि गर्नुहुन्न भने अलि मोटो रकम खर्चिनुस्, अरु नै कसैले उत्तर लेखिदिएर चाहेको नम्बरसहित पास गराउने व्यवस्था पनि छ ।
यो जनकपुरबासीका लागि नौलो कुरा होइन, किनभने यहाँ विगत ११ वर्षदेखि यस्तै भइरहेको छ । स्नातक तह चौथो वर्षको परीक्षा चलिरहेका बेला मंगलबार राराब क्याम्पस पुग्दा यस्तै गतिविधि देख्न पाइयो । परीक्षार्थीहरूबीच चिट चोर्ने मात्र होइन, किताब र गाइड सार्ने प्रतिस्पर्धा नै चलिरहेको थियो ।
परीक्षा हलमा देखिएको बेथितिबारे क्याम्पस प्रमुख प्राध्यापक विजयकुमार लाल दाससँग जिज्ञासा राग्दा उनले ‘यहाँमात्र नभएर दैशैभरि यस्तै भइरहेको जवाफ दिए ।’
‘विगतमा जस्तो खुलेआम बाहिरबाट कापी लेखाएर ल्याउन त दिएका छैनौं,’ उनले भने, ‘चीटलाई पनि पूर्णरूपमा नियन्त्रण गर्न सकिएको छैन ।’
उनले आफ्नो लाचारी प्रस्तुत गरे, ‘के गर्ने देशमा विभिन्न किसिमका आन्दोलनहरू भए, विद्यार्थीहरू चीट चोर्न पाउनुलाई आफ्नो अधिकार ठान्छन् । कसलाई रोक्ने ? प्रहरी, पत्रकार, नेता सबैले जाँच दिइरहेका हुन्छन्, त्यसैले पनि कडाइ गर्न गाह्रो भएको छ ।’
परीक्षा हलमा हुने अनियमितता रोक्न नसकिएको सोही कलेजमा अध्यापनरत प्राध्यापक डाक्टर नविन मिश्रा पनि स्वीकार्छन् । ‘पहिलाजस्तो गङ्गा नै बगिरहेको छ भनेर त म भन्दिनँ, तर चोरी भइरहेको कुरा यथार्थ हो ।’
गिरोहको चलखेल
क्याम्पसमा अध्यापनरत अर्का एक प्राध्यापक परीक्षालाई अमर्यादित बनाउन ठूलै गिरोह सक्रिय रहेको बताउँछन् । नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘परीक्षा जानेरै अमर्यादित बनाइन्छ, किनभने त्यसबापत संस्थागतरूपमै गिरोहहरूले विद्यार्थीबाट पैसा उठाउँछन् र एकआपसमा भागबण्डा गर्छन् ।’
उनका अनुसार त्यस काममा विद्यार्थी नेता, क्याम्पसका कर्मचारी र विद्यार्थी सबैको मिलेमतो हुन्छ । ‘यस्तै परीक्षामा पैसा कमाएर केही विद्यार्थी नेताले जनकपुरमा महङ्गो जमिन किनेर घरसम्म बनाउन भ्याएका छन्, उनीहरूका महङ्गा मोटरसाइकल, मोबाइल, साँझ परेपछि रेष्टूरेन्ट र विलाशी जीवन पनि त्यसैको उपज हो,’ ती प्राध्यापकले भने ।
रोक्न छैन नैतिक बल
कलेजमा खासै पढाइ हुँदैन । शिक्षकहरूले हाजिरी गरेरै जागिर खाएका छन्, सोही कारण पनि यस्ता अनियमितता रोक्ने नैतिक बल कसैसँग नभएको एक विद्यार्थी नेता बताउँछन् । ‘कलेजमा कहिल्यै पढाइ हुँदैन, शिक्षकले आएर हाजिरी गरेर जाने काम मात्रै गर्छन्, त्यसकारण परीक्षामा चोरी रोक्ने नैतिक मनोबल क्याम्पस प्रशासनसंग छैन,’ उनले भने ।
‘क्याम्पस प्रमुख नै आर्थिक अनियमितता तथा भ्रष्टाचारमा चुर्लुम्म डुबेका हुन्छन्, जसले गर्दा विद्यार्थी नपढाउने प्राध्यापकलाई क्याम्पस प्रमुखले कारबाही गर्न सक्दैनन्, त्यसैले पनि चोरी रोक्ने साहस कसैसंग हुँदैन,’ उनले थपे ।
मधेस आन्दोलनपछि बढ्यो अनियमितता
क्याम्पस प्रमुख दासले माथि विभिन्न आन्दोलन भनेर संकेत गर्न खोजेको २०६३ सालमा भएको मधेस आन्दोलनलाई हो । त्यसयता जनकपुरका परीक्षा यसैगरी चलिरहेका छन् ।
यहाँ त जनकपुरका मात्र होइन, देशका विभिन्न ठाउँबाट परीक्षाका लागि मात्र आउने विद्यार्थीले समेत तीन/तीन विषयमा डिग्री लिइसकेका छन् । जसमा सामान्य प्रहरी जवानदेखि एसपीसम्म, खरदारदेखि उपसचिवसम्म र नेताहरूसमेत छन् ।
‘यस शैक्षिक शत्रमा राराबबाट परीक्षामा सहभागी करीब ५ सयमध्ये २ सयमात्र जनकपुरका छन्, बाँकी ३ सय जनाजति देशका विभिन्न भू–भागका त्यस्तै विद्यार्थी हुन्, जसले परीक्षाका लागि मात्र जनकपुरलाई रोजेका हुन्,’ एक निरीक्षकले भने ।
मन्त्री जानुभन्दा एक दिनअघि नै क्याम्पस प्रमुखलाई फोन !
यसक्रममा सोमबार प्रदेश नम्बर २ को प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले राराब कलेजमा परीक्षाको निरीक्षण गरे । मन्त्री पुग्दा एकदमै मर्यादित वातावरणमा परीक्षा सञ्चालन भयो .
परीक्षा खटिएका एक निरीक्षकका अनुसार मन्त्रीले म आउँदैछु भनेर अघिल्ले दिन नै क्याम्पस प्रमुखलाई फोन गरेका थिए । ‘अघिल्लो दिन नै फोन गरेर जानकारी गराएकाले मन्त्री आउँदा १० मिनेटजति कडाइ गरिएको हो,’ उनले भने ।
निजीमा झनै भद्रगोल
अझै निजी क्याम्पसहरूको सेटिङ त झनै गज्जबको छ । एउटा कलेजको विद्यार्थीलाई जुन परीक्षा केन्द्रमा राखिएको छ त्यही केन्द्रका विद्यार्थीहरूको परीक्षा ठीक उही कलेजमा भइरहेको छ । उदाहरणका लागि राजर्शी जनक क्याम्पस जनकपुरका विद्यार्थीको परीक्षा केन्द्र मोडल मल्टिपल क्याम्पस जनकपुरमा तोकिएको छ, मोडल मल्टिपलका विद्यार्थीले राजर्शी जनकमा परीक्षा दिइरहेका छन् ।
यस्तोमा निजी कलेज सञ्चालकहरूले सहमतिमै एकअर्को कलेजका विद्यार्थीलाई परीक्षामा जे गर्न पनि छुट दिएका छन् । सञ्चालकहरूको मिलेमतोमै परीक्षालाई अमर्यादित बनाइएको छ ।चैत ६, २०७४ मा प्रकाशित
त्रिविको परीक्षामा मनलाग्दी : १० हजार तिरे बाहिरैबाट उत्तर पुस्तिका भरेर बुझाउन सकिने
जनकपुरधाम, ७ चैत-कुनै समय रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब) जनकपुरधाम त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पसहरूमध्ये चर्चित र प्रतिष्ठितमा एक मानिन्थ्यो । उक्त क्याम्पसमा पढ्नका लागि धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, सिन्धुली, रामेछाप, ओखलढुङ्गा, रौतहट, बारा र पर्सासम्मका विद्यार्थीहरू आउने गर्थे ।
खास गरी विज्ञान संकायको पढाइमा देशैभरीकै अब्बल मानिन्थ्यो । विज्ञान संकायको प्रविणता प्रमाणपत्र तह ‘आईएससी’ यस क्याम्पसको हाइलाइट फिचरहरूमध्ये एक थियो । प्रत्येक वर्ष मेडिकल, इञ्जिनियरिङ आदि निकायमा जनकपुरका विद्यार्थीले इन्ट्रान्स परीक्षामा राम्रो अंकसहित छात्रवृत्ति प्राप्त गर्थे । बीएस्सी, एमएस्सीमा टप गर्ने विद्यार्थीहरू राराबकै प्रोडक्ट हुन्थे । जनकपुरका विद्यार्थीलाई काठमाडौंमा पनि ‘राम्रो विद्यार्थी’को रूपमा लिइन्थ्यो । कुनै पनि विद्यार्थी आफू राराब क्याम्पस जनकपुरको प्रोडक्ट हो भन्दा राम्रै सम्मान पाउँथ्यो ।
पूर्वउपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, उपाध्यक्ष वृषेशचन्द्र लाल, कांग्रेस नेताहरू मोहन बराल, उज्वल बराल, सर्लाहीका कांग्रेस सभापति हरेश महतो, कांग्रेस धनुषाका सभापति रामसरोज यादव, नेता प्रफुल्ल घिमिरे, ललन चौधरी, युवराज खातीलगायत विभिन्न पार्टीका नेताहरूसमेत राराब क्याम्पसकै ‘प्रोडक्ट’ हुन् । उक्त क्याम्पसबाट उत्तीर्ण भएका विद्यार्थीहरू देशकै शासन सत्ता चलाउने नेतादेखि सफल प्रशासकसमेत भएका छन् ।
राराबको तह घटुवा
विगतका तमाम सफलताका कथा अब इतिहासका पानामा मात्र सिमित भइसकेको छ । अहिलेको अवस्थामा उक्त क्याम्पसको नाम लिनेवित्तीकै विद्यार्थीको समेत नकारात्मक मूल्याङ्कन हुन थालेको छ । किनभने उक्त कलेजमा पढाइलेखाइ हुँदैन । विद्यार्थीहरू पनि अब बढी छैनन् ।
२०५३ सालमा उक्त क्याम्पसमा सबैभन्दा बढी १५ देखि १७ हजारसम्म विद्यार्थीहरू भर्ना भएका थिए । ५ हजारभन्दा बढी विद्यार्थी भएको क्याम्पस ‘क’ वर्गमा पर्दछन् । भौतिक पूर्वाधारका हिसाबले पनि राराब क्याम्पस सम्पन्न नै मानिन्छ । तर अहिले २ हजारदेखि साढे २ हजारसम्मको बीचमा विद्यार्थीहरू भर्ना भएका छन् । त्यसकारण क्याम्पसको वर्गमासमेत घटुवा भएको छ ।
२०६६ सालदेखि उक्त क्याम्पस ‘क’ बाट ‘ख’ वर्गमा झरेको छ । त्रिभुवन विश्व विद्यालयबाट पीसीएल फेजआउट गरेपछि प्रविणता प्रमाणपत्र तहका विद्यार्थीहरू घट्नु विद्यार्थी संख्यामा कमी आउनुको कारण रहेको क्याम्पस प्रमुख प्राध्यापक विजयलाल दास बताउँछन् । स्नातक र स्नातकोत्तरका विद्यार्थी पनि निजीतिर सरेका छन् ।
२०६५ देखि २०७२ सालसम्मको बीबीएस प्रथम वर्षको भर्ना दर हेर्ने हो भने ६ सय ६२ देखि १ सय ८८ मा झरेको छ । त्यसैगरी २०६७ सालदेखि २०७१ सालसम्म एमबीएस प्रथम वर्षमा विद्यार्थी भर्ना संख्या हेर्ने हो भने ४ सय १६ बाट ३ सय ४५ मा झरेको छ । तुलनात्मकरूपले बीबीएसभन्दा एमबीएसमा विद्यार्थी संख्या बढी हुनुको कारण एमबीएस तहको पढाई निजी क्षेत्रका सिमित कलेजमा मात्र हुन्छन् ।
२०६६ सालमा एमए अर्थशास्त्रको प्रथम वर्षमा ९२ जना विद्यार्थी भर्ना भएका थिए भने २०७१ सालमा आएर २५ मा झरेको थियो । त्यसैगरी एमएड प्रथम वर्षमा २०६७ सालमा ६४ जना विद्यार्थीहरू भर्ना भएका थिए भने २०७१ सालमा आएर ३६ मा खुम्चिएको थियो । एकवर्षे बीएडकै कुरा गर्ने हो भने २०६८ सालमा ९१ जना नयाँ विद्यार्थीहरू भर्ना भएका थिए भने २०७१ सालमा आएर ६ जना विद्यार्थीहरू मात्र भर्ना भएका थिए ।
एमए नेपालीकै कुरा गर्ने हो भने २०६७ सालमा प्रथम वर्षमा १६ जना विद्यार्थीहरू भर्ना भएका थिए भने २०७१ सालमा आएर २ जनामा खुम्चिएको छ । त्यसैगरी एमए समाजशास्त्रमा प्रथम वर्षमा २०६७ सालमा १ सय ३ जना विद्यार्थीहरू नयाँ भर्ना भएका थिए भने २०७१ सालमा आएर विद्यार्थी संख्या २४ मा सिमित भएको थियो ।
एमए राजनीतिशास्त्र प्रथम वर्षमा २०६६ सालमा ९६ जना विद्यार्थीहरू थिए भने २०७१ सालमा आएर ४८ मा खुम्चिएको थियो । यी सबै कुराले के देखाउँछ भने राराब क्याम्पसमा विद्यार्थी भर्ना हुने संख्या प्रतिवर्ष घट्दै गएको छ । यही क्रम निरन्तर रहे भने केही वर्षमै राराब क्याम्पसको भवन त रहने छन् तर त्यहाँ पढ्ने एउटा विद्यार्थी पनि पाउन गाह्रो छ ।
निजीमुखी प्राध्यापक
विद्यार्थी पढाउने उपप्राध्यापकदेखि प्राध्यापकसम्मको संख्यामा पनि कमी छैन । एकजना कर्मचारीका अनुसार उक्त क्याम्पसमा करीब १ सय ७५ जना जति उपप्राध्यापक कार्यरत छन् । जसमध्ये विज्ञान संकायअन्तर्गत करीब ७५ जना, व्यवस्थापन अन्तर्गत करीब २५ जना र मानविकीतर्फ करीब ४० जना स्थायी दरबन्दी भएका उपप्राध्यापक कार्यरत छन् । त्यसैगरी आंशिक र करारतर्फ पनि थुप्रै उपप्राध्यापकहरू कार्यरत छन् । तिनीहरूको काम भनेको क्याम्पसमा जाने, हाजिरी बनाउने र तलब पकाउनेमा मात्र सिमित छ ।
विद्यार्थीहरूले त्यहाँ जतिसुकै गुनासो गरे पनि पढाइ हुँदैन । किनभने ती कलेजमा काम गर्ने उपप्राध्यापकहरू जागिर त राराब क्याम्पसको गरे पनि काम भने निजी कलेजका लागि गरिरहेका हुन्छन् । मुख्य कुरा के हो भने राराब क्याम्पसका उपप्राध्यापकहरूले नै बाहिर निजी कलेज सञ्चालन गरेका छन् भने राराब क्याम्पसमा पढाउने कुरै आउँदैन ।
विनोद साह व्यवस्थापन विषयका सहप्राध्यापक र मुक्तिनाथ साह रशायनशास्त्र विषयका उपप्राध्यापक हुन् । यी दुवैजना निजी कलेज नेशनल एकेडमी र सिटी कलेजका सञ्चालक पनि हुन् । किशोरी नायक मानविकी संकायका लागि राराब क्याम्पसको सहायक क्याम्पस प्रमुख नै हुन् । अंग्रेजी विषयका उपप्राध्यापक नायक निजी क्षेत्रमा गौरी क्याम्पस सञ्चालन गरेका छन् । नायक त मानविकी संकायका सहायक क्याम्पस प्रमुख नै हुन् ।
सदन भगत राराब क्याम्पसका व्यवस्थापन विषयका उपप्राध्यापक हुन् । उनी पनि निजी क्षेत्रमा न्यू इङ्गलिस प्लस टू क्याम्पसका सञ्चालक हुन् । विनोद साह तथ्याङ्क शास्त्र विषयका राराब क्याम्पसका उपप्राध्यापक हुन् । उनी पनि बाहिर मिट क्याम्पसका सञ्चालक छन् । सञ्जिव सिंह बोटनी विषयका उपप्राध्यापक हुन् । उनले पनि न्यू मिलेनियम कमर्स क्याम्पस सञ्चालन गरेका छन् ।
यी त केही उदाहरण मात्र हुन् । राराब क्याम्पसमा पढाउने उपप्राध्यापक, सहप्राध्यापकदेखि प्राध्यापकसम्म कि त बाहिर निजी कलेजका सञ्चालक छन् कि त निजी कलेजमा पढाउँछन् । प्राध्यापक संघका अध्यक्ष जुगेश्वर साहका अनुसार त्रिभुवन विश्वविद्यालयबाट इजाजत लिएर नै निजी विद्यालयमा काम गर्ने तथा सञ्चालन गर्ने गरेका छन् । तर राराब क्याम्पसमा जुन सिफ्टमा ड्यूटी हुने हो त्यो सिफ्टबाहेक मात्रै बाहिर निजीमा काम गर्नुपर्नेमा त्यस्तो नभएको उनले बताए । त्यस कामका लागि क्याम्पस प्रशासनले अनुगमन समिति पनि बनाएको छ, तर न त कहिल्यै अनुगमन हुन्छ न त कारबाही नै ।
१० हजारसम्म तिरे बाहिरैबाट उत्तर पुस्तिका भरेर बुझाउन सकिने
राराब क्याम्पसमा २०६३ को मधेस आन्दोलनपश्चात परीक्षामो चिट चोर्नु त आम विषय भइसकेको छ । परीक्षार्थीहरू किताब, गेस, गाइड आदि टेबुलमै राखेर नक्कल गर्नुलाई आफ्नो अधिकार ठान्छन् । यहाँसम्म कि ५ हजारदेखि १० हजार रूपैयाँसम्ममा बाहिर उत्तर पुस्तिका लेखाउने र गार्ड तथा शिक्षकहरूलाई मिलाएर सोही उत्तरपुस्तिका परीक्षा हलमा प्रवेश गराउने धन्दा नै चलेको छ ।
उक्त धन्दा चलाउनमा विद्याथी नेताहरूदेखि क्याम्पसका कर्मचारीहरूसम्मको मिलोमतो हुन्छ । विद्यार्थीभन्दा पनि अन्य ठाउँमा जागिर गर्ने नेपाल सरकारका कर्मचारीहरूले अमर्यादित परीक्षाको बढी लाभ उठाएका छन् । बढुवाका लागि सर्टिफिकेट आवश्यक पर्ने र सर्टिफिकेटका लागि राराबमा परीक्षा दिने प्रवृत्तिको फाइदा स्थानीयस्तरका नेताहरूदेखि सुरक्षाकर्मी, निजामती कर्मचारीहरू समेतले उठाएका छन् । त्यसकारण पनि संस्थागत बनेको अमर्यादित परीक्षा अब विद्यार्थीहरूको नैसर्गिक अधिकार जस्तै बनेको छ । प्रत्येक वर्ष करीब १ सयदेखि १ सय ५० जनासम्म विद्यार्थीहरूलाई निष्काशनसमेत गरिन्छ ।
नेपाल प्राध्यापक संघ राराब क्याम्पस इकाई कमिटीका अध्यक्ष जुगेश्वर साहका सहायक क्याम्पस प्रमुख छँदा उनले अमर्यादित गतिविधि रोक्न पहल गरेका थिए । २०६८ सालमा उनले राराब क्याम्पसमा परीक्षा दिइरहेका २ हजार ४ सय ४० जना परीक्षार्थीमध्ये अमर्यादित गतिविधिमा संलग्न १ हजार १ सय ५५ जनालाई निष्कासन गरे । १ वर्षका लागि प्रतिबन्धसमेत लगाए । ‘त्यसपछि त मलाई ज्यान मार्ने, काटिदिनेसम्मका धम्कीसहितका फोन आए । बिचलित नभई प्रयास गरिरहेँ, तर सफल हुन सकिन,’ उनले भने ।
क्याम्पस प्रशासन एक्लैले परीक्षा मर्यादिन बनाउन सक्ने अवस्था नरहेको उनी बताउँछन् । ‘अहिले विगतमा जस्तो बाहिरबाट उत्तरपुस्तिका नै लेखेर ल्याउने काममा त कमी आएको छ, तर पनि मोबाइलमापÞर्mत चिट चोराउने काम भइरहेको छ, क्याम्पस प्रशासनले एक्लै नियन्त्रण गर्न सक्दैन, त्यसका लागि जनकपुरकै समाज तयार हुनुपर्छ ।’
पढाइ नै नहुने यस क्याम्पसका विद्यार्थी राम्रो अंक ल्याएर उत्तीर्ण हुने गरेका छन् । २०६५ सालमा बीबीएस प्रथम वर्षमा ८ सय ५७ जना परीक्षर्थी सहभागी भएकोमा ४ सय ९५ जना उत्तीर्ण भए । २०६७ सालमा एमए प्रथम वर्षमा २१ जना परीक्षार्थीमध्ये १५ जना उत्तीर्ण भए । परीक्षामा कुनै एक दिन कडाइ हुँदा केही विद्यार्थी फेल हुने गरेका हुन् । परीक्षा हलमा गएर हेर्यो भने कुनै पनि परीक्षार्थीले कतैबाट नसारी १५ मिनेसम्म पनि कलम चलाउन सकेको देखिन्न ।
दाताको सहयाेग खेर
राराब क्याम्पसको स्थापनामा रामसागर र रामस्वरूप साहको ठूलो योगदान छ । क्याम्पस प्रमुखको कार्यकक्षमा ती दुवै जनाको तस्वीर पनि झुन्डयाइएको छ । विक्रम सम्वत् २००४ सालमा जनकपुरमा सरस्वती माध्यमिक विद्यालय स्थापना गरेपछि सकलीदेवी साहले छोराहरू रामस्वरूप र रामसागरलाई छात्रा पाठशाला समेत खोल्न सुझाएकी थिइन् । मावि स्थापनासँगै जनकपुरमा पहिलो कलेज खोल्ने तयारीमा रहेका साह दाजुभाइले त्यसको चार वर्षमा कलेज र ६ वर्षमा कन्या मावि निर्माण गरेर आमाको चाहना पूरा गरे, आवश्यक नगद र जग्गा दानसहित ।
त्यसको एकदशकभित्र यो परिवारले छात्रावास र सरस्वती मन्दिर निर्माण गरेर क्याम्पस सञ्चालनका लागि थप ७५ बिघा जग्गा समर्पण गर्यो । रामस्वरूप र रामसागर दाजुभाइले २००१ सालमै धर्म संस्था ट्रष्ट खडा गरी रु. १० हजार १ नगद र ३०० बिघा जमिन राखेर दानपुण्यको गतिविधि शुरू गरेका थिए । त्यो ट्रष्टबाट जनकपुरमा धर्मशाला, अञ्चल अस्पतालको प्रसूति विभाग, बाल विभागलगायत अनेकौं काम भए । सफल उद्योग÷व्यवसाय गरेर समाजसेवामा पनि कीर्ति राख्नेमा पर्छ, जनकपुरको रामस्वरूप र रामसागर साह परिवार, जसले राणाकालमै दानदातव्यको संस्कृतिलाई संस्थागत रूप दियो । (2074 Chaitra 07)
त्रिविको परीक्षामा मनलाग्दी : चिट थुत्नेलाई कुटपिट, शिक्षक कुट्नेलाई जागिर !
जनकपुरधाम, ८ चैत-२०६३ सालमा मधेस आन्दोलन हुँदा शैक्षिक संस्थाहरू पनि प्रभावित भए । २०६३ सालको जन आन्दोलनका क्रममा त्यसै पनि विद्यालय तथा कलेजहरू ठप्प भएर पठनपाठन हुन सकेको थिएन । त्यसलगत्तै मधेस आन्दोलनमा समेत पठनपाठन पूर्णरूपमा ठप्प भयो । परिणामस्वरूप विद्यार्थीहरूले राम्ररी पढ्न पाएनन् ।
कलेजहरूमा निर्धारित शैक्षिक शत्रभित्र पाठ्यक्रम ‘कोर्स’ पूरा हुन सकेन । त्यसकारण परीक्षामा पनि केन्द्राध्यक्ष तथा निरीक्षकहरूले परीक्षालाई खुकुलो बनाइदिए । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा देशैभरि ख्याति प्राप्त रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पस जनकपुरमा परीक्षालाई जानेरै खुकुलो पारियो ।
जयकृष्ण गोइत त्यति बेला उक्त क्याम्पसका प्रमुख थिए । आन्दोलनमा विद्यार्थी, प्राध्यापक, कर्मचारी सबैको ऐक्यबद्धता तथा योगदानसमेत रहेका कारण तत्कालीन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का नेताहरूको अनुरोधमा क्याम्पस प्रशासनले एक वर्षका लागि परीक्षालाई खुकुलो पारेका थिए । तर कसलाई थाहा थियो कि त्यही कुराले निरन्तरता पाउलान्, परीक्षामा चिट चोरीको हद नै नाघ्लान् भनेर त्यतिबेलाका क्यापम्स प्रमुख गोइतले पनि सोचेका थिएनन् । तीन वर्षपछि गोइतले परीक्षा नियन्त्रण गर्न प्रयास पनि नगरेका होइनन्, तर उनी पनि असफल भए । झन् परिणाम नै भयानक हुन गयो ।
सहायक क्याम्पस प्रमुख विद्यार्थीबाटै कुटिए
२०६६ सालको मंसिर महिनामा राराब क्याम्पसमा परीक्षाका लागि क्याम्पस प्रमुख गोइत केन्द्राध्यक्ष थिए । परीक्षामा ‘अब्जर्भर’को रूपमा गोइतले मानविकी संकायका प्रमुख धीरेन्द्रनाथ कर्णलाई खटाए । अघिल्ला वर्षहरूमा जस्तै परीक्षार्थीहरू परीक्षामा चिट चोर्ने, किताब तथा गेस पपेरबाट खुलेयाम सार्ने काम गरिरहेका थिए ।
सोही क्रममा परीक्षा अवलोकन गर्न पुगेका सहायक क्याम्पस प्रमुख कर्णले चिट चोरिरहेका विद्यार्थीहरूको चिट खोस्ने, उत्तरपुस्तिका खोसेर परीक्षा हलबाट बाहिर निकाल्ने काम गर्न थाले । सोही क्रममा उक्त कलेजकै एकजना कर्मचारी पियन तपेश्वर यादवका छोरा सञ्जीव यादवको पनि चिट र उत्तरपुस्तिका कर्णले खोसे । यादव रातो पिरो हुँदै कर्णलाई केही नभनी तर्किँदै परीक्षा हलबाट बाहिरिए ।
त्यसको भोलिपल्ट पुनः परीक्षाको अनुगमन गर्नका लागि कर्ण क्याम्पस पुगेर साइकल स्ट्याण्डमा साइकल लगाएर निस्किदै गर्दा अचानक करीब ५ जना विद्यार्थीको समूहले उनीमाथि सांघातिक आक्रमण गर्यो । सो समूहको नेतृत्व तिनै सञ्जीवले गरेका थिए । उनीहरूले क्रिकेटको स्टम्पले हान्दै आक्रमण गरेका थिए । लगत्तै क्याम्पस प्रमुख गोइत पनि आए । हत्तपत्त उनलाई जनकपुर अञ्चल अस्पताल पुर्याइयो ।
उनको दाहिने हात भाँचिनुका साथै पूरै शरीरमा चोट लागेको थियो । ‘मलाई कुटपिट गर्ने विद्यार्थीलाई तीन वर्षका लागि परीक्षाबाट ‘एक्स्पेल्ड’ गर्नुका साथै प्रहरीमा उजुरी दिएर कानूनी कारबाही गर्न क्याम्पस प्रमुख गोइतलाई अनुरोध गरेको थिएँ,’ कर्णले लोकान्तरसंग भने, ‘क्याम्पस प्रमुखले त्यो पिउन तपेश्वर र मलाई कुट्ने उनका छोरा सञ्जीवलाई मेरो घरमा ल्याएर माफ गरिदिन भन्नुभयो र घटनालाई झिसमिस पारिदिनुभयो ।’ धेरै नै अड्डी कसेपछि सञ्जीवलाई एक वर्षका लागि निष्कासन गरियो ।
क्याम्पस प्रशासनले कर्णको उपचारमा लागेको ५ हजार रुपैयाँ तिरेर उम्किने काम गरेपछि चिट चोर्ने विद्यार्थीको मनोबल थप बढ्दै गयो भने अर्कोतर्फ परीक्षामा कडाई गर्ने हिम्मत कसैले पनि गरेनन् ।
कर्ण सम्झिन्छन्, ‘झन् त्यसपछि त के भयो भने मलाई कुट्ने त्यही सञ्जीवलाई अर्का क्याम्पस प्रमुख विष्णुदेव यादवले आंशिक कर्मचारीको रूपमा भर्ना नै गरेर उनलाई पुरष्कृत गर्ने र मलाई होच्याउने काम भयो । त्यसपछि कहिल्यै म परीक्षा सुधार गर्नुपर्छ, मर्यादित बनाउनुपर्छ भन्नेतर्फ लागिनँ ।’
त्यसपछि विद्यार्थी नेता, क्याम्पस प्रशासन, कर्मचारी र प्राध्यापकहरू समेतले अमर्यादित परीक्षालाई बढावा मात्रै दिएनन्, कमाइ खाने धन्दा नै बनाए । त्यो धन्दाको बारेमा यसअघि भाग १ र भाग २ मा वृतान्त लेखिसकिएको छ । परिक्षा अमर्यादित हुँदै गयो । बेलाबेला परीक्षा टाइट गरिएको छ भनेर देखाउनका निम्ति रकम नदिने र चिट नक्कल गर्ने केही विद्यार्थी लाई प्रत्येक वर्ष एक्स्पेल्ड गरेर कारबाहीको नाटकसमेत हुँदै आएको छ । विष्णुदेव यादवको दुई कार्यकालमा अमर्यादित परीक्षाबाट उनीसंगै थुप्रैले जनकपुरमा ठूलो महल ठड्याए । यादव क्याम्पस प्रमुखबाट हटेपछि नेपाली कांग्रेसका नेता स्वर्गीय महेन्द्र नारायण निधिका जेठो छोरा तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिका दाजु नवेन्द्र निधि क्याम्पस प्रमुख भए । उनले परीक्षा सुधार गर्ने कोशिस त गरे तर, सफल हुन सकेनन् ।
उनकै कार्यकालमा परीक्षामा अब्जर्भरका रूपमा तत्कालीन सहायक क्याम्पस प्रमुख जुगेश्वर साहलाई खटाइएको थियो । उनले एक दिनमामात्रै कुल २ हजार ४ सय ६० जना विद्यार्थीहरूले परीक्षा दिइरहेका बेला अमर्यादित क्रियाकलापमा संलग्न १ हजार १ सय ५५ जना परीक्षार्थीलाई एकसाथ एक वर्षका लागि निष्कासित गरियो । नेपालको इतिहासमै एकैसाथ एउटा परीक्षा केन्द्रबाट यति धेरै परीक्षार्थीलाई निष्कासित गरिएको यो पहिलो घटना थियो । त्यसपछि आफूलाई ज्यानै मार्नेसम्मका धम्की फोनबाट आएको साहले लोकान्तरलाई बताए ।
महिला अब्जर्भरमाथि हातपात र दुर्व्यवहारको प्रयास
निधि क्याम्पस प्रमुख रहेकै बेला एक महिला अब्जर्भरमाथि विद्यार्थीहरूद्वारा हातपात तथा दुर्व्यवहारको प्रयास गरियो । २०७३ सालमा राराब क्याम्पसमा स्नातक तहको परीक्षा चलिरहँदा अमर्यादित क्रियाकालप गरिरहेका विद्यार्थीहरूलाई कारबाही गर्दा विद्यार्थीहरूको हुलले उनी माथि हातपातको प्रयास गरेको थियो ।
‘परीक्षामा बाहिरबाट उत्तरपुस्तिका लेखाएर ल्याएका तत्कालीन स्ववियु सभापति नरेश यादव, पदाधिकारीहरू श्रीराम यादव, सुमन्त यादव लगायत कतिपय विद्यार्थी नेताहरूलाई नै एक वर्षको लागि एक्स्पेल्ड गरेकी थिएँ,’ मैथिली विषयकी उपप्राध्यापकसमेत रहेकी विनिता ठाकुरले भनिन्, ‘त्यसपछि पछाडिबाट विद्यार्थीहरूले मेरो कपाल तान्न खोजे, मविरुद्ध नाराबाजी गर्न लगाइयो, अनेक किसिमका गालीगलौज गर्नुका साथै धम्कीसमेत दिइयो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालीन प्रहरी नायब उपरीक्षक नकुल पोखरेल जो स्नातकोत्तर तहका विद्यार्थी समेत थिए, उनलाई फोन गरेर सुरक्षाकर्मी माग गरी स्कर्टिङमा घरसम्म पुगेको स्मरण गर्छिन ठाकुर ।
परीक्षा मर्यादित हुनुपर्छ भन्ने सोचका साथ आफू लागे पनि त्यसपछि आएका क्याम्पस प्रमुख विजयलाल दासले मलाई कहिल्यै अब्जर्भर तोकेनन्,’ ठाकुर भन्छिन्, ‘अहिले क्याम्पस प्रमुख दास र चोरी गराउने गिरोहहरूले परीक्षा अमर्यादित बनाएर मोटो रकम कमाइरहेका छन् । सबैको धन्दा सेटिङमै चलेको छ ।’ परीक्षा मर्यादित बनाउनुपर्छ भन्ने सोचमा धेरै प्राध्यापकहरू पनि छन् तर, धन्दाका कारण त्यसो हुन सकेको छैन ।
हिन्दी सिनेमामा खलनायकहरू परीक्षा हलमा पस्दा डेस्कमै छुरा घोपेर परीक्षामा चिट चोर्नेजस्ता दृश्यहरू देखाइन्छन् । त्यस्तै कुनै बेला देशकै शानको रूपमा रहेको जनकपुरको राराब क्याम्पसमा त्यस्तै गुण्डागर्दी नभए पनि बिद्यार्थीहरू गुण्डागर्दीकै भरमा परीक्षामा चिट चोर्न पाउने अधिकार रहेको र त्यसो गर्न नदिए गुरुलाई नै सांघातिक हमलासमेत गर्ने प्रयास भएको परिपाटीलाई कसले सुधार्ने हो ? उत्तर पाउन सकिएको छैन ।